धनगढी, २२ माघ – कञ्चनपुरको पुनर्वास नगरपालिका रोजगार सेवा केन्द्र र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर कञ्चनपुरकाे संयुक्त आयोजनामा ४५ दिने थारु लेहेंगा बनाउने तालिम सम्पन्न भएको छ।
तालिममा २० जना सहभागी रहेका थिए। तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख ताेय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो भने वडा न ६ का अध्यक्ष मित्रसिंह लामा अध्यक्ष रहेका थिए। त्यस्तै, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्टको पनि उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा नगर प्रमुख शर्माले तालिमबाट व्यवसायिक रूपमा अघि बढ्न चाहनेलाई आगामी दिनमा औजार उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । यस्तै वडा अध्यक्ष लामाले पनि आगामी दिनमा विभिन्न संघसंस्थासँग समन्वय गरेर यस्ता कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
यसै गरि व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख विष्टले यस्ता तालिमहरूले व्यवसायिक सीप विकास गर्न मद्दत पुर्याउने भन्दै यस प्रकारका तालिमलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले भने “बजारमा सजिलै बिक्ने सीपहरूले रोजगारी सिर्जना गर्छ । मनिसले सजिलै राेजगरी पाउँछन् ।”