धनगढी,२० माघ । डोटीमा ११ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप लगाइने भएको छ। खोप लगाउनका लागि माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १० हजार ९०१ जना र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५८६ जना गरेर जम्मा ११ हजार ४८७ जना किशोरीलाई अभियानका क्रममा खोप लगाइने छ। खोप अभियान सञ्चालन गर्न ३०२ खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
विद्यालयमा रहेका किशोरीका लागि सम्बन्धित १९५ विद्यालयमा खोप केन्द्र तोकिएको छ भने विद्यालयबाहिर रहेका किशोरीका लागि स्वास्थ्य संस्थाहरूमा १०७ खोप केन्द्र तोकिएको छ। खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने छ। खोप अभियानका क्रममा प्रत्येक पालिकामा चिकित्सकसहितको एइएफआई व्यवस्थापन तथा उपचार टोलीसमेत परिचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए।