बाजुरा, १९ माघ । बाजुराको बडिमालिका नगरपालिका–८ को नेपाली काँग्रेस दोस्रो वडा सम्मेलन नेपाली काँग्रेस बी।पी। स्मृति भवनमा सम्पन्न भएको छ।
वडा सम्मेलनमा क्रियाशील सदस्यता नवीकरण, संगठन सुदृढीकरण, तथा नेपाली काँग्रेसलाई अझ सशक्त बनाउन आवश्यक पहलबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले पार्टी संगठनलाई मजबुत बनाउँदै जनता माझ पुग्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली काँग्रेसले केन्द्रीय स्तरबाट सय दिने संगठन सुदृढीकरण अभियानलाई जोड दिँदै स्थानीय तहसम्म जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने योजना अघि सारेको छ। पार्टीलाई अझ बलियो बनाउन यो अभियान सञ्चालन गरिएको बडिमालिका नगरपालिका प्रतिनिधि चक्र बहादुर साहाले जानकारी दिए।
वडा सभापति वीर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डित रहेका थिए। विशिष्ट अतिथिहरूमा काँग्रेस महाधिवेशन प्रतिनिधि तथा बडिमालिका नगरपालिका प्रतिनिधि चक्र बहादुर साहा, नेपाली काँग्रेस कार्यभाग सभापति पदम वडुवाल, महाधिवेशन प्रतिनिधि हर्क बहादुर खडायत, तथा नगर सभापति गोपाल कार्की रहेका थिए।
कार्यक्रममा वडा उपसभापति नन्दा रावलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन वडा सहसचिव प्रकाश रावलले गरेका थिए।