धनगढी, १९ माघ । धनगढी होलसेल व्यवसाय सङ्घको छैठौँ साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, उद्योग वाणिज्य संघ कैलालीका महासचिव ओम बिष्ट, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मदनराज पन्त, च्याम्बर अफ कमर्स नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्ल, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत व्यवसायिक संगठनमा आबद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि प्रकाश बमले व्यवसायीहरूका समस्याप्रति आफू संवेदनशील रहेको बताएका छन्। उनले व्यवसायलाई सहज बनाउने नीति निर्माणका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका छन्। होलसेल व्यवसाय सङ्घका अध्यक्ष देवराज पाण्डेले व्यवसायीहरूले विभिन्न समस्याको सामना गरिरहेको बताउँदै राज्यको नीति व्यवसायमैत्री नभएको गुनासो गरे। उनले नीतिगत कमजोरीका कारण व्यवसायहरू धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।
विशेष गरी नाकाबाट घरायसी प्रयोजनका सामग्री भनी ल्याएर यहाँ खुलेआम बिक्री गरिनु व्यवसायीहरूका लागि चुनौती बनेको उनले बताए। यस्तो गतिविधिलाई रोक्न स्थानीय तथा प्रदेश सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ थियो। साधारण सभाका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसमा ४६ जनाले रक्तदान गरेका थिए। त्यस्तै, होलसेल व्यवसायीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न पेनाल्टी सुटआउट प्रतियोगिता पनि सञ्चालन गरिएको थियो।