धनगढी , १८ माघ / धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ। माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर, डडेलधुरा र बझाङ्ग गरी १० विद्यालयबाट १९ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।
बोल्न्या थलीको आयोजना , एक्सिस विद्याश्रमको सहकार्यमा तथा डिज्युरी इन्स्टिच्युट अफ ल को प्रायोजनमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पसमा सञ्चालित उक्त कार्यक्रमको उपाधि महेन्द्र माध्यमिक विद्यालय महेन्द्रनगर कञ्चनपुरले हात पारेको थियो।
यस्तै एलायन्स इन्टरनेसनल विद्यालय धनगढीले द्वितीय स्थान प्राप्त गर्यो भने, धनगढी नमुना माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा सहभागी १९ समूहमध्ये १७ समूहले प्रतियोगिताको लिखित बहस नोट चरण पार गरे भने १३ समूहले बहस नोट चरण पार गरेर प्रतियोगितामा सहभागिता जनाएका थिए। बहस नोटमा धनगढी स्थित सिसियस प्लस टु उत्कृष्ट भयो भने टिम स्प्रिट पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयले हात पार्यो। प्रतियोगिताको उत्कृष्ट वक्ताका रुपमा धनगढी नमुना माध्यमिक विद्यालयकी छात्रा शर्मिला धानुक घोषित भइन्।
सुदूरपश्चिम प्रदेशकाे कानुनी शिक्षाकाे इतिहासमा सबैभन्दा बढी सहभागी एवम बौद्धिक व्यक्ति बीचको पहिलोपटक उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा कैैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थी पदम बहादुर साउदले जानकारी दिए।
दुई दिनसम्म चलेको कार्यक्रममा प्रारम्भिक चरणको न्यायाधीशका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अभ्यास अदालत प्रतियोगितामा सहभागिता जनाई सकेका कानुन संकायमा अध्यनरत बिद्यार्थी रहेका थिए। यसका साथै कानुन व्यवसायी एबम् कानुनका विज्ञ व्यक्तित्वको कार्यक्रम उपस्थितिमा उक्त अभ्यास अदालत प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संयोजक साउदले जानकारी दिए।