धनगढी,१९ मंसिर । कैलालीको गोदावरीका एक यातायात व्यवसायीले आफ्नो सार्वजनिक बसमा ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । गोदावरी नगरपालिका – ५ गेटाका अमर बहादुर विष्टले आफूले सञ्चालन गर्दै आएको बसमा एक जना ज्येष्ठ नागरिकलाई निःशुल्क सिट उपलब्ध गराउने घोषणा गरेका हुन ।
उनले ज्येष्ठ नागरिकको सहजताका लागि आफूले बसमा व्यक्तिगत रूपमा एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए । विगत १५ वर्ष देखि यातायात पेसामा आबद्ध उनले यसअघि पनि बसमा ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएको भए पनि बुधवार देखि आधिकारिक रूपमा एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए ।
उनले नेपाल सरकारले यसअघि ४५ प्रतिशत छुट गरेको भए पनि त्यो व्यवस्था अहिले कार्यान्वयनमा नआएको अवस्थामा आफूले व्यक्तिगत रूपमा अभियान सुरु गरेको बताए ।
उनले अहिले अघोषित रूपमा सरकारले नै सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था हटाएको बताए । ‘सार्वजनिक यातायातले लक्षित वर्गलाई छुट दिएबापत सरकारले करमा छुट दिने गरेको थियो’ उनले भने ‘सरकारले अहिले कर छुटको व्यवस्था हटाएको छ । कर छुट हटाएपछि सार्वजनिक सवारी साधनले पनि यातायातमा छुट दिन छोडेका छन् ।’
उनले ज्येष्ठ नागरिक पहिचान गर्नको लागि ज्येष्ठ नागरिक पहिचान पत्रलाई आधार बनाउने र, त्यो सम्भव नभएर उमेर हेरेर छुट दिने बताए ।
