धनगढी,९ मंसिर । कैलालीको एउटा विवाहमा कुर्सी तोडफोड गर्दै लफडामा उत्रिएका दुई जना कुटिएका छन् । प्रहरीका अनुसार आइतबार बिहान २ बजेतिर बर्दगोरिया गाउँपालिका-६ का केशव नेपालीको छोरीको विवाहमा गएर २४ वर्षीय सुशील बम लगायतले बिना कारण कुर्सी तोडफोड गरेका थिए ।
सोही क्रममा स्थानीयले उनीहरूलाई लखेट्दै कुटपिट गरेका थिए । कुटपिटबाट बम र घोडाघोडी नगरपालिका(३ का २२ वर्षीय प्रमोद परियार घाइते भएका छन् । बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको र उनको साथबाट चक्कु बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
उनीहरुसँगै विवाहमा लफडा गर्ने अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका(६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका-१० बस्ने २२ वर्षीय दिनेश खत्रीलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।