धनगढी,७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई अत्तरियामा स्वागत गरिएको छ । राप्रपाका नेताकार्यकर्ताहरुले सुदूरपश्चिम भ्रमणमा रहेका लिङ्देनसहित पार्टीका प्रवत्ता ज्ञानेन्द्र शाहीलाई अत्तरियामा स्वागत गरेका हुन् ।
आमसभालाई सम्बोधन गर्न कैलालीको साडेपानीमा जान लागेका लिङ्देनले पत्रकारलाई छोटो प्रतिक्रिया दिदै सुदूरपश्चिमका ५ वटा जिल्लाको भ्रमण गर्नका लागि आफू सुदूरपश्चिम आएको बताए । उनले राप्रपाको बारेमा आमजनतालाई जानकारी गराउन यो भ्रमण गरिएको बताए ।
‘राप्रपा पार्टीको बारेमा आम जनतालाई जानकारी गराउन, राष्ट्रको सन्दर्भमा आगामी दिनमा कसरी जान सकिन्छ भन्ने हाम्रा दृष्ट्रिकोणहरु जनतालाई सुनाउन र जनताबाट पनि हाम्रो पार्टीलाई दिने सुझावहरु जान्न यो भ्रमणमा हामी आएका हौ,’ उनले भने, ‘सँगसँगै समस्याहरु के छन, विकास निर्माणको अवस्था के छ, जनताको मनस्थिति के छ भन्ने विषयमा पनि हामी अध्ययन गरिरहेका छौ ।’
उनले आफूहरुको भ्रमण बाजुराबाट सुरु भएर अछाम, डोटी र कञ्चनपुर हुदै कैलालीमा भैरहेको बताउदै अबको केही दिनपछि अन्य जिल्लाहरुको भ्रमण पनि रहने बताए ।
उनले आफूहरुको भ्रमणलाई उपनिर्वाचन लक्षित मात्रै भन्न नहुने बताए । ‘यो केवल उपनिर्वाचनसँग मात्रै सम्बन्धीत छैन, यो भन्दा अघि हामीले कर्णालीको यात्रा ग¥यो, यो क्रम अरु प्रदेशमा पनि हुन्छ’ उनले भने ‘राजनितिक अभियानमा हिड्दा खेरी उपनिर्वाचनको सन्दर्भ त जोडिने नै भयो ।’
उनले भ्रमणका क्रममा आफूले वडाको हारजितले समग्र पार्टीलाई फरक नपर्ने भएपनि राष्ट्रिय राजनितिमा प्रमुख हु भन्ने दलहरुलाई सुध्रिन र दवाव दिन मद्दत मिल्ने बताए । उनले राप्रपालाई मत दिए केन्द्रका मुख्य दलहरुलाई सुध्रिन सहयोग पुग्ने भएकाले मत परिवर्तन गरी राप्रपालाई मत दिन अनुरोध गरेको बताए ।