धनगढी,५ मंसिर । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुख पदमा काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध हुने सम्भावना बढेको छ। प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी फिर्ता लिने निर्णय गरेसँगै भुल निर्विरोध हुने देखिएको हो।
नाउपाबाट प्रमुख पदका लागि रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गरेकी थिइन्। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि नाउपाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।
उनका अनुसार कैलालीमा प्रमुख पद जित्न १३ मत आवश्यक पर्ने भए पनि कांग्रेस र एमालेको गठबन्धनले १३ मत सुनिश्चित गरिसकेको छ। कांग्रेससँग ८ र एमालेसँग ५ मत रहेको छ। नाउपासँग ७, माओवादी केन्द्रसँग ३, समाजवादीसँग १ र स्वतन्त्रसँग १ मत रहेको छ।
प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले उम्मेदवारी फिर्ताका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको जानकारी दिए। नाउपाले उम्मेदवारी फिर्ता लिँदा टीकाकुमारी भुल निर्विरोध निर्वाचित हुने निश्चित देखिएको छ।
दुबै पाटि बिच छललफल सकारात्क भएको र नाउपाले उम्मेदवारी फिर्ता लिने तयारी भएको जिल्ला सचिव केशव राज मिश्रले बताए ।
टीकाकुमारी भुल कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन्। उनको समर्थकमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र प्रस्तावकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना रहेका छन्।
यसअघि, २०७९ पुस २३ गते तत्कालीन प्रमुख पदमबहादुर कलेलको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन तोकिएको हो। मंसिर १६ गते हुने उपनिर्वाचनमा गठबन्धनले भुललाई समर्थन गरेपछि प्रमुख पदमा प्रतिस्पर्धा शून्य बनेको छ।