धनगढी,५ मंसिर । नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीमा रहेको घोडाघोडी ताल क्षेत्र, बसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल क्षेत्र, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करीडोर लगायतको क्षेत्रमा यो प्रजातिको चरा पाउन थालेका हुन् ।
विश्व प्रकृति संरक्षण संघ (आइयुसीएन) ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको अतिसंवेदनशील चराको सूचीमा राखेको छ । सुदूरपश्चिमको दुई जिल्लामा यो चरा निकुञ्ज क्षेत्रभन्दा बाहिर पाउन थालेको र संख्या पनि बढ्दो क्रममा रहेको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार घोडाघोडी ताल क्षेत्रमा सुरुमा दुईवटा मात्र राज लाहाँचे अभिलेख गरिएको थियो । पछिल्लो अध्ययनले सङ्ख्या बढेर १३ पुगेको देखाएको छ । १३ वटै राज लाहाँचे एकै समूहमा देखा परेको डङ्गौराले बताउनुयो ।
यसैगरी, कञ्चनपुरस्थित लालझाडी कोरीडोरमा एकसाथ नौ वटा राज लाहाँचे देखा परेका छन् । सङ्ख्यासंगै राज लाहाँचे देखा पर्ने क्षेत्र विस्तार भएको डङ्गौराको भनाइ छ ।
विश्वमा २३९ प्रजातिका लाहाँचेहरु पाइन्छन् । नेपालमा हालसम्म २६ प्रजातिका लाहाँचे भेटिएका छन् । जसमध्ये राज लाहाँचे विश्वमै दुर्लभ प्रजाति हो । यो प्रजातिको चरा शुक्लाफाँटा, बर्दिया, बाँके र चितवन राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पाइन्छन् । निकुञ्ज क्षेत्रभन्दा बाहिर भने कैलाली, कञ्चनपुरमै बढी सङ्ख्यामा देखा परेको चराविदको भनाइ छ ।