लवदेब धामी
धनगढी, २६ भदौ / समाज परिवर्तन हुँदै गएका छन्, यो समयको माग पनि हो । तर कति परिवर्तन भएका छन भने आफ्नो अस्तित्व , भाषा, पहिचान , संस्कार , संस्कृति सबै भुलेर आगन्तुक पहिचानलाई अपनाइ रहेका छन् । तर कतै यस्ता समुदाय पनि भेटिन्छन् जस्ले आफ्नोपनलाई जोगाउन र पुस्तानतरण गर्न लागि परेका छन् ।
कैलाली जिल्ला गौरीगंगा नगरपालिका वाड नं.१० को नक्लीपुर होमस्टे र कैलाली धनगढी वाड नं. १६ मा रहेको भादा होमस्टे लगायत अन्य यस्तै सुदूर पश्चिमका समुदायले सञ्चालन गरी रहेका होमस्टे आफ्नो संस्कार , सभ्यतालाई पनि होमस्टेमा आउने पाहुनालाई बाँडी रहेका छन् । व्यवसायीक तरिकाले सञ्चालनमा रहेका होमस्टेले बजारी खानालाई आयातित संस्कार , संस्कृतिलाई छोडेर आफ्ना प्राचिन रैथाने परिकारसँगै आफ्नो स्थानीय कलालाई पनि पर्वद्धन गरिरहेका छन्।
२०७७ सालमा कोरोनाले समाज त्यति बेला आक्रान्त थियो, चौतर्फी आर्थिक मन्दि, व्यापार व्यवसाय बन्द भएर सबै हायलकायल भएका थिए । त्यही समयमा पत्रकारिता पेशाबाट कोरोनाले नै पलायन भएका गौरीगंगा नगरपालिका १० का दिनेश दहितले होमस्टे सञ्चालन गर्ने सोच बनाएर अघि बढे र हामस्टे सञ्चालमा लिए । तर कोरोना महामारी त्यति बेला सम्म पनि उत्तिकै सक्रिय रहेका कारण होमस्टेले गति लिन सकेन र दर्ता प्रक्रियाहरु मात्रै पुरा गरेर बन्द गर्नु परेको तितो अनुभव पनि नक्लीपुर होमस्टेका अध्यक्ष दिनेश दहितसँग छ ।
२०७९ सालमा कोरानाको आतंक सकिए पछि उनी होमस्टे जसरी पनि सञ्चालन गर्नु पर्छ भनेर लागि परे र विधिवत रुपमा उद्घाटन गरी ६ वटा घरबाट होमस्टे सञ्चालन गरे । होमस्टेका अध्यक्ष दहितलाई कसरी होमस्टे सञ्चालन गर्ने भनेर त्यति ठूलो चिन्ताको बिषय नै थिएन, पत्रकारिता गर्दाका बखतमा उनले यस्तै होमस्टेबारे सबै बुझि सकेका थिए । त्यहीँ भएर पनि होला दिनेशलाई विदेश गएर पैसा कमाउनु पर्ने सोच आएन आयो त यहाँकै संस्कार, संस्कृति, पहिरन, रैथाने परिकार, स्थानीय सभ्यतालाई माथि लग्नु् पर्छ संरक्षण, प्रर्वद्धन गर्नु पर्छ भनेर आफुसँगै पुरा समाजलाई पनि केही नयाँ गर्नु पर्छ भनेर देखाउने प्रेरणादायी सोच , जुन उनको कुनै समयको एक्लो व्यक्तिको नीजि सोच आज सिङ्गो समाजले बोकेको छ ।
यस्तै संघर्षको कथा धनगढीको वाड नं. १६ मा सञ्चालनमा रहेको भादा होमस्टेका सञ्चालक लक्ष्मीनारायण चौधरी सँग पनि रहेको छ । उनले २०६७ साल पुस १७ गतेबाट विधिवत रुपमा सुरु गरेर १७ घरबाट सञ्चालमा ल्याएका थिए । त्यो समयमा खासै होमस्टे के हो कसरी चलाउने भन्नेबारे सबै अलमलमा थिए, तर नेपाल सरकारको पर्यटन मन्त्रालय अन्र्तगतको साना गाउँ विकास परियोजना सञ्चालनमा रहेको थियो । त्यसै परियोजनाबाट हामी मध्ये केहीँले होमस्टे सञ्चालनबारे सिक्ने अवसर पायौँ र आफ्नो व्यवसायलाई अगाडी बढाउँदै आएको उनी बताउछन् ।
उनी भन्छन्, होमस्टे व्यवसाय यस्तो व्यवसाय हो जहाँ एकता हुन्छ , प्रेम , सदभाव , र भाइचारको अटुट सम्बन्ध कायम रहेको हुन्छ । होमस्टे व्यवसायमा आर्थिक पाटो मात्रै हेर्ने हो भने केही कम हुन सक्छ , हामीले गरिरहेको संस्कृति पुस्तानतरण, प्राकृतिक सम्पदाको संरक्षण , सँग सँगै आफ्नो पहिचान, संस्कार , संस्कृति होमस्टे सम्म आएका पर्यटकलाई बाँडेर गरिरहेको प्रचार प्रसारले गर्दा आयाति संकृतिका सामु आफुहरुको संस्कृति ( सखिया नाच , लठ्ठी नाच , झुमरा नाच ) जीवन्त बन्नेमा विश्वस्त रहेको बताउछन् ।
समाजैसँगै मिलेर गरिरहेको यो पेशाले खाडीमा कमाएको अबौँ बराबरको खुसी दिएको छ । हामी आफ्नोपनलाई प्रर्वद्धन गर्न लागि परेका छौँ । सरकारले पनि हाम्रो क्षेत्रको भौतिक विकासका लागि पहल चालि दिए अझै सहजता हुने र आन्तरीक सँगै विदेशी पर्यटकलाई पनि लोभ्याउन सकिनेमा दुई मत नरहेको भादा होमस्टेका अध्यक्ष चौधरी बताउछन् ।
हाम्रो आन्तरीक ,बाह्य विकासका लागि सरकारलाई आँखा चिम्लिन छुट नभएको र पछिल्लो समयमा ठूला संख्यामा युवा विदेशीने क्रम बढेको छ । तर हामीले यो देशमै आफ्नो घर घरबाटै गरी रहेको यो पेशालाई जीवन्त बनाउन सबैको सहयोग आवश्यक रहेको नक्लीपुर होमस्टेका अध्यक्ष दहित बताउछन् ।
दूई युवाको एक्ला एक्लै प्रयासबाट बढ्दो आयातित संस्कृतिका अगाडी स्थानीय संस्कार , संस्कृतिले पनि आफ्नै शैलीमा हुर्कने अवसर पाएको छ । अब आफ्नो मौलिक पहिचान जोगाउन सबै समाजले लाग्नु पर्ने प्रेरणा भादा र नक्लीपुर होमस्टेबाट लिन सकिन्छ ।