धनगढी, १६ कार्तिक/धनगढीको मुख्य सडक वरीपरीका संरचना भत्काउन बुधबारदेखी धनगढीमा डोजर चलेको छ । उप महानगरले सडक फराकिलो बनाउने योजना सहित धनगढीका नगरप्रमुख गोपाल हमाल आफै सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् । सडकको दायाँबायाँ १५÷१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेरी गरेपछि नगरप्रमुख हमाल आफै डोजर लिएर सडकमा निस्केका छन् । बुधबार देखी उपमहानगरपालिकाले धनगढीको अस्पताल लाईमा रहेका सटरहरु भत्काउन सुरु गरेको छ ।
‘सडक नक्सा भित्र परेका घरधनीहरुलाई सुचना दिएका थियौ’ नगरप्रमुख हमालले भने–‘केहीले अटेरी गरेपछि डोजर लिएर हामी आफै भत्काउने अभियानमा लागेका हौ ।’ प्रदेशको अस्थाई मुकाम र मुख्य सहरका रुपमा रहेको धनगढी मुख्य बजार साघुँरो सडकका कारण अस्तब्यस्त हुन थालेपछि उप महानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।
उप महानगरले कैलाली पुलदेखी क्याम्पस चोक सम्मको सडक चौडा बनाउन लागेको हो । केही घरधनीहरुले उपमहानगरपालिकोको प्रबिधिक सहयोगमा आफै संरचना हटाई सकेको उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख दिजराज भट्टले बताए । सडक चौडा बनाउन रेखाकंन उपमहानगरले प्राविधिक सहयोगमा इच्छुक केही घरधनीले हटाई सकेका समेत भट्टले बताए ।
मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका थिए । ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना उपमहानगरको छ । सडक निर्माणका लागि परामर्शदाता मार्फत सर्भेको काम भइसकेको छ ।