धनगढी, २५ भदौ । दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालेको छ। जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। उनका अनुसार अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको छ।
यस्तै दार्चुला प्रहरीले पनि महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको जनाएको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।