काठमाडौँ, १७ भदौ । सरकारले कृषिमा प्राकृतिक विपद्का कारण हुने क्षति कम गर्न कृषि बीमाको कार्यक्रम ल्याएको छ । राहत दिने उद्देश्यले ल्याइएको बीमा कार्यक्रमबाट किसान भने उल्टै पीडित छन् ।
व्यवसायको बीमा गरे पनि किसानले बीमा रकम पाउने गरेका छैनन् । बीमा कम्पनीले भुक्तानीमा विभिन्न कारण देखाउँदै आनाकानी गर्ने गरेका छन् ।
कैलाली घोडाघोडि नगरपालिका– ८ का पहल देउवाले २०७८ साल ९ महिना १३ गते नेको इन्स्योरेन्समा ११ हजार कुखुराको बीमा गरे । बीमा गरेको करिब एक महिना पछिदेखि रोगले दैनिक कुखुरा मर्न थाल्यो । कुखुरा मर्न थालेसँगै देउवाले नेको इन्स्योरेन्स अत्तरिया शाखा प्रमुखलाई खबर गरे । तर उनले आफूलाई कोरोना भएको जवाफ फर्काए ।
बीमा कम्पनीलाई खबर गर्दा पनि प्राविधिक नआइसकेपछि उनले नगरपालिको भेटनरीको सिफारिस, फोटो र भिडियो सबै दैनिक कम्पनीलाई पठाए । तर अहिले प्रुफ पुगेन भनेर कम मात्र मूल्याङकन गरेको उनले गुनासो गरे ।
११ हजारमा ९ हजार २ सय भन्दा बढी कुखुरा मर्यो । करिब २६ लाखको क्षति भएको छ । तर कम्पनीले भने करिब २ हजार कुखुरा मात्र क्षति भएको भन्दै २ लाख जति मात्र भुक्तानी दिन लागेको उनले गुनासो गरे ।
‘२६ लाख बढिको क्षति भएको छ । २ लाख लिएर मैले के गर्ने रु’ प्रश्नको शैलीमा उनले भने,‘मैले समयमा कम्पनीलाई खबर गरेको थिए । उहाँहरू आउनु भएन त मैले के गर्ने रु मरेको कुखुरा राखी राख्न त भएन नि ।’ सबै प्रुफ दिए पनि भिडियो पुगेन भनेर भुक्तानी दिनबाट कम्पनी पन्छी रहेको उनले बताए ।
‘भिडियो पुगेन भन्नु कम्पनीको बदमासी हो । बोलाउँदा नआउने अहिले प्रुफ पुगेन भन्न मिल्दैन’ उनले भने,‘मैले चल्ला राख्दादेखि नै सर्वे गर्न प्राविधिकहरू आएका छन् । उनीहरूलाई पनि सबै कुरा थाहा छ ।’
क्षति भएको कम्पनीले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि झन्डै एक वर्षसम्म बीमा दाबी भुक्तान उनले पाएका छैनन् । ६/७ महिना त रिपोर्ट आउँदै छ भन्दै झुलाएको पनि उनले गुनासो गरे । उनले भने,‘६/७ महिना त रिपोर्ट आउँदै छ भनेर झुलायो । अहिले ७ महिना पछि बल्ला रिपोर्ट आयो तर चित्त नै बुझेन ।’
अहिले रिपोर्ट चित्त नबुझेसँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालय र बीमा समितिमा निवेदन दिएको पनि देउवाले बताए । उनका अनुसार बीमा समितिले बीमा कम्पनीलाई बोलाएर छलफल गर्ने बताएको छ । बीमा गरेर किसानलाई राहत भन्दा पनि धेरै सास्ती खेप्नु गरेको पनि उनी बताउँछन् ।
बीमाको भुक्तानी नदिने मात्र हैन अहिले कुखुराको बीमा नै गर्न नमान्ने पनि उनले बताए । अहिले उनले ७ हजार चल्ला हालेका छन् । तर ३/४ वटा कम्पनीलाई बीमा गर्न भने पनि नमानेको उनले बताए ।
उनले गुनासो गर्दै भने,‘हामीले पटक पटक बीमा कम्पनीलाई पशु तथा कृषि बीमाको लागि आग्रह गर्दा पनि बीमा गर्नै मान्दैनन् । बल्लतल्ल बीमा गर्छन्, पशु पन्छी मरेको खण्डमा पैसा लिनको लागि युद्ध जिते झैँ गर्नुपर्दछ ।’ यो त एउटा प्रतिनिधि घटना मात्र हो ।
यस्ता धेरै बीमा कम्पनीले दाबी भुक्तानी नदिएको धेरै घटना छन् । सरकारले कृषि क्षेत्रमा किसानलाई आकर्षित गर्न बीमा कार्यक्रम सञ्चालन गरेको यतिका वर्ष हुँदा पनि बीमा प्रक्रिया नै झन्झटिलो हुने तथा समयमा भुक्तानी नपाउने हुँदा आकर्षण कम छ ।
सरकारले कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि कृषि बीमा सुरु गरेको हो । बीमा कम्पनीहरूको नियामक बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरे पनि किसानको आकर्षण हालसम्म भने न्यून छ ।
नियामक निकाय बीमा समितिले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन गरेको थियो । तर, यी बीमा समितिले दिएको निर्देशनअनुसार बीमा सस्थाले कृषि क्षेत्रमा बीमा गराउन सकेका छैन । अझैपनि बीमा कम्पनी ग्रामिण भेगका कृषकसम्म बीमा पुग्दैन ।
देशको जनसंख्याको करीब ७४ प्रतिशत जनता ग्रामीण परिवेशमा बसोबास गर्दछन् । उनीहरूको जीविकोपार्जन गर्ने मुख्य पेशा कृषि र्नै हो । मुख्यत ग्रामीण भेगको जनसख्या कृषिमा धेरै नै निर्भर छन् । तर किसान कृषि बीमाबारे जानकार नै छैनन् ।
सरकारले कृषि बीमालाई कृषकमैत्री बनाउन नसक्दा यसको फाइदा खेती किसानीले लिन नपाएका हुन् । सरकारले कुल प्रिमियममा २० प्रतिशत मात्र किसानले र बाँकी ८० प्रतिशत मन्त्रालय अन्र्तगत बीमा समित मार्फत बीमा कम्पनिहरुले भुक्तानी पाउने व्यवस्था छ । जुन किसानलाई प्रिमियममा दिइएको अनुदान हो । यो अनुदान र बीमाका बारेमा अधिकांश किसान अनविज्ञ छन् । बीमा गरेका किसानले भने दावी भुक्तानी सहज तरिकाले पाउने गरेका छैनन् ।
प्रुफ पुगेन : बीमा कम्पनी
यता कुराको बीमा गर्ने नेको इन्स्योरेन्स कम्पनी अत्तरिया शाखाले भने प्रुफ नपुगेको जनाएको छ । नेको इन्स्योरेन्स कम्पनी अत्तरिया शाखा प्रमुख चेतराज ओझाले प्रुफले भ्याएसम्म भुक्तानी दिएको बताए । ‘उहाँले जति कागजपत्र बुझाउनु भयो । त्यो अनुसार हेड अफिसले त्यति रकम दिन तयार गरेको हो ।’ उनले भने,‘आफूले यति पाउनु पर्छ भनेर हुँदैन । हाम्रो पनि प्रक्रिया हुन्छ सर्भेवरबाट प्रतिवेदन आए अनुसार नै हामीले भुक्तानी गर्ने हो । प्रतिवेदन भन्दा बाहिर गएर भुक्तानी गर्न सकदैनौं ।’
बीमा दाबी भुक्तानी नपाएको खण्डमा के गर्ने ?
सामान्यतया यस्तो अवस्था आउँदैन तर दाबी रकम वा भुक्तानी सम्बन्धमा कुनै विवाद सिर्जना भए बीमा नियमावली २०४९ को नियम ३६ बमानेजिम बीमा समितिमा ६० दिनभित्र उजुरी गर्न सकिन्छ र यसको समाधान बीमा समितिले गर्ने छ । कम्पनीले भुक्तानी नदिए राष्ट्रिय बीमा समितिमा उजुरी दिनु पर्ने हुन्छ । र, उक्त उजुरीको आधारमा बीमा समितिले कार्बाहिको फैसला गर्छ ।
कम्पनीले बदनियत पूर्ण ढङ्गले नदिएको पाइयो भने बीमांकको दफा ३६ अनुसार कारबाही हुने राष्ट्रिय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले जानकारी दिए । उनका अनुसार १० हजार जरिवादेखि लिएर दण्ड सजाय हुने व्यवस्था छ । दण्डनीय नै रहेको छ भने कारोबार बन्दसमेत गर्न सकिने उनले बताए ।
हलोखबरबाट, रेखा जोशी