धनगढी, २३ साउन/धनगढी उपमहानगरपालिका वडा नं-५ स्थित डिभोटी चोकदेखि पिपल चौतारासम्म ७ सय मिटर सडकको वरिपरि बनाइएका ६/७ फिट गहिरो नालीमा ढक्कन छैनन्। करिब आधा दर्जन बढी विद्यालय ओहोर-दोहोर गर्ने हजारौं विद्यार्थी यही सडक भएर आउ-जाउँ गर्छन्। सडक वरिपरि रहेका दर्जनौं घर, पसलबाट बाहिरभित्र गर्न यही खुला नाली नाघ्नुपर्छ। वर्षातमा बढी वर्षा हुँदा धनगढी जलमग्न हुने गर्छ। पानी भरिँदा सडक र नाली ठम्याउन पनि सकिँदैन। वर्षात सुरु हुन अघिदेखि स्थानीयले यो सडक निर्माण गरिरहेको निर्माण व्यवसायी र सरोकारवाला निकायलाई यी नालीमा परेर मान्छे मर्ने जोखिम भएकोले ढक्कन लगाइ दिन अनुनय विनय गर्न थालेका हुन्, तर अहिलेसम्म नालीमा ढक्कन लगाउन कुनै चासो नदेखाएपछि स्थानीय चिन्तित बनेका छन्।
धनगढी उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही एक महिनादेखि उच्च जोखिम रहेको यो नालीमा ढक्कन लगाइदेउ भनेर आग्रह गर्दा पनि नटेरेको बताउँछन्। आधा दर्जन विद्यालयका ५ हजार बढी विद्यार्थी यो बाटो ओहोर-दोहोर गर्ने गरेको उनी बताउँछन्। ‘पाँच हजार विद्यार्थी ओहोर-दोहोर गर्छन्, नालीमा ढक्कन नहुँदा वर्षातमा जतिबेला पनि नालीमा खसेर ज्यान जाने खतरा छ’ उनले भने, ‘तलदेखि माथीसम्म मिलाएर सम्झौता अनुसार समयमा काम नगर्ने ठेकेदारको लापरवाहीको यो पाराकाष्टा हो।’
नालीमा ढक्कन नलगाएमा पक्कै पनि कोही न कोही मान्छे नालीमा खसेर मर्ने उनी बताउँछन्। नाली पनि गुणस्तरहीन बनाएको उनले बताए। गुणस्तरहीन काम गरिरहेको छ। सडकमा एक पटक बनाएको पिच स्थानीयले भत्काएर पुनः गर्न लगाएको उनी बताउँछन्। नाली पनि गुणस्तरहीन बनाएको र एक महिनादेखि नालीमा ढक्कन नलगाएर एम्वुस थापे जस्तै गरेको उनले बताए।
‘नगरपालिकाका मेयरले पनि पटक(पटक भन्नु भएको छ, कसैको भनेको पनि नटेरेर दादागिरी गरेर काममा बेवास्था गरेको छ’ उनले भने। यस्तो लापरवाही हुँदा पनि कसैले अनुगमन समेत नगरेकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन्। ‘गुणस्तरहीन काम भैरहेको छ, मान्छेको ज्यान धरापमा पर्नेगरी नाली खुला छोडेर सम्पर्कविहीन छ, ठेक्का दिने निकाय के हेरेर बसिरहेको छरु ’स्थानीय ईन्द्रबहादुर शाहले भने,‘ जति गलत र लापरवाही हुँदा पनि सबै मौन बस्ने प्रवृत्ति नै समस्या भएको छ।’
सडक छेउमा रहेका घरकै अगाडि मान्छे डुब्ने गहिरो नाली खुला हुँदा घरभित्र बाहिर ओहोर-दोहोर गर्न समेत समस्या भएको प्रेमबहादुर शाहले बताए। सडकको वरिपरि बनाइएका नाली ५ फिटदेखि ७ फिटसम्म गहिराइ रहेको प्राविधिकले बताएका छन्। यसैगरी हाइटेन्सन लाइनको नांगो तार बिजुलीको पोलमा लागेर करेन्टको उच्च जोखिम रहेको स्थानीयले बताए।
‘अस्ती ९र१० चरा करेन्ट लागेर मरे, पानी परेको बेला पोलमा करेन्ट बगिरहेको छ, पोल छोएमा करेन्टको खतरा पनि छ, यो बनाउनमा पनि उस्तै लापरवाही छ’ वडा अध्यक्ष शाहीले भने। एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भैरहेकको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत कालिका कन्ट्रक्सन प्रालिले यो सडक निर्माणको काम गरिरहेको छ।
कालिकाका प्राजेक्ट म्यानेजर प्रतिक भाकुजुले विद्यार्थीहरुको ओहोर-दोहोर हुने डिभोटीदेखि पिपल चौतरासम्मको नालीको ढक्कन तुरन्तै हालेर समस्या समाधान गरिने बताए। यसैगरी हाइटेन्सन बिजुली लाइन पोलमा लागेर करेन्ट लाग्ने समस्या पनि पाइप हालेर समाधान गर्ने उनले बताए। यो प्रालिले ७५ करोड लागतमा धनगढी शहरमा विभिन्न ठाउँमा गरी साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो।विद्यार्थी ओहोर-दोहोर गर्ने संवेदनशील स्थानमा जोखिम नहुने गरी नालीका ढक्कन राख्न निर्माण कम्पनीलाई भनिसकेको। कालिका कन्ट्रक्सनको काम विवादित हुँदै आएको छ।
दुई वर्षमा काम सिध्याउने गरी सम्झौता गरेकोमा यो महिना समयावधि सकिएको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रविण शाहले बताए। अहिलेसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए। ९ महिना म्याद थपको प्रक्रियामा रहेको छ।विद्यार्थी ओहोर(दोहोर गर्ने संवेदनशील स्थानमा जोखिम नहुने गरी नालीका ढक्कन राख्न निर्माण कम्पनीलाई भनिसकेको उनले बताए। कालिका कन्ट्रक्सनको काम विवादित हुँदै आएको छ। गुणस्तरहीन काम गरेको, नाली बांगो बनाएको लगायतका विभिन्न विषयमा निर्माण भैरहेका विभिन्न ठाउँमा स्थानीयले विरोध गर्दा उत्पन्न विवादले समेत काम प्रभावित भएको एक प्राविधिकले बताए।
