टीकापुर, १८ साउन । कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट युरिया मलको बोराभित्र चिनी तस्करी हुने गरेको खुलासा भएको छ ।
सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजश्व टोलीले टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्टाबाट गएराति युरिया मलको बोराभित्र राखेर नेपाल ल्याउन लागिएको चिनी बरामद गरेपछि सो खुलासा भएको हो ।
टोलीले बाहिर युरिया मल लेखिएको १५ बोरा चिनी बरामद गरेको छ । गएराति साढे १२ बजेको समयमा तस्करहरुको एक समूहले युरिया ल्याउने बाहनामा चिनी भित्र्याई रहेको सूचना पाएपछि गएको टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा डन्लप, गोरु गाडा बरामद गरेको बिओपी खक्रौलाका इञ्चार्ज धनबहादुर सिंहले बताए ।
सिंहका अनुसार तस्करीमा संलग्न एक गिरोहले मलको बोराभित्र राखेर चिनी ल्याउने गरेको सूचनाका आधारमा बरामद गरिएको बताए ।भन्सार छली गरेर सामान नेपाल भित्र्याउने गरेकोले समेत भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताइन्छ ।
साउनको दोस्रो हप्तासम्म सत्ती भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गतवर्षको साउन महिनामा मात्र १ करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रिने भए पनि भन्सारबाट कपडा नगन्य मात्रामा भित्रिरहेको छ ।
नेपालमा खेतबारीमा प्रयोग गरिने युरिया, डिएपी लगायतका मलखादको अभाव देखिएपछि किसानहरुले सीमा क्षेत्रबाट मल ल्याउने गरेका थिए । मलको बोराभित्र चिनी भेटिएपछि सुरक्षा चेकजाँचमा कडाई गरिएको छ।