काठमाडौँ, २२ असार । चार वर्ष पहिले श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हत्यापछि फरार भएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का अच्छन अलि अन्सारीलाई पक्राउ गरेको हो। हत्यापछि उनी भारततर्फ फरार भएका थिए।
वाँकेको जमुनाहा स्थित नेपाल–भारत सिमावर्ती क्षेत्रमा फेला पारी पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।प्रहरीका अनुसार अन्सारीले २०७५ असार ३१ गते दाइजो कम ल्याएको भन्दै श्रीमतीसँग झगडा गरेका थिए।
पत्नी रुवी अन्सारीलाई टाउकोमा लाठी र भाला प्रहार गरेका थिए। त्यसक्रममा गम्भीर घाइते भएकी रुवीलाई उपचारको लागि भारत लगिएको थियो। २०७५ साउन २१ गते भारतको लखनउमा उनको मृत्यु भएको थियो।
उनीविरुद्ध जिल्ला अदालत बाँकेले २० वर्ष कैदको फैसला गरेको छ। २०७७ चैत ९ गते भएको फैसला कार्यान्वयनका लागि प्रहरीले बुधबार अदालतमा बुझाएको छ।