धनगढी ६, असार । कैलालीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका-६ जगतपुरस्थित बौनिया-भजनी भित्री सडकखण्डमा से ७ प ३००९ नम्बरको मोटरसाइकलले जोशीपुर गाउँपालिका-६ सिम्रीका ६० वर्षीय ठाकुरप्रसाद डगौरालाई ठक्कर दिएको हो।
ठक्करबाट डगौरा गम्भीर घाइते भएका र उनको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल चालक भजनी नगरपालिका १ का १८ वर्षीय पारस रेग्मी जैशी र पछाडि सवार सोही ठाउँका २२ वर्षीय विपिन न्यौपाने सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।