काठमाडौँ, ११जेठ/सरकारले एक हप्ताकै बीचमा सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । गत ४ जेठमा मात्रै विभागले गाडी भाडा बढाएको थियो ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २।१ प्रतिशत भाडा बढेको छ ।
पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा २।७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ । गत ४ जेठामा यात्रुबाहक सवारीको हकमा ३।५ प्रतिशत भाडा बढेको थियो । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४।६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५।१ प्रतिशत मूल्य बढेका थियो ।