धनगढी, ३० वैशाख । सत्ता गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृपबहादुर वड र कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता पुष्करनाथ ओझाबीच मतदान केन्द्रमा जम्काभेट भएको छ ।
धनगढीको शारदा माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई नेताको जम्काभेट भएको हो । भेटमा दुवैले हार्दिकता देखाएका छन् । प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार भेटका क्रममा नेता ओझाले वडलाई जितको शुभकामना दिएका थिए ।
७४ सालमा भएको संघीय निर्वाचनमा कांग्रेस नेतृ आरजु राणालाई हराउन भूमिका खेलेको आरोपमा कांग्रेसले ओझालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
यसपटक स्थानीय निर्वाचनको प्रचारका लागि गत आइतबार धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भेटका लागि गरेको प्रस्ताव ओझाले अस्वीकार गरेका थिए । ओझानिकट स्रोतका अनुसार देउवालाई चुनावपछि मात्रै भेट्न सकिने सन्देश उनले पठाएका थिए ।सत्ता गठबन्धनका तर्फबाट धनगढीको मेयरमा उम्मेदवार बनेका कांग्रेस नेता वडलाई यसपटक पनि स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले चुनौती दिने ठानिएको छ । धनगढीमा एमालेका तर्फबाट रणबहादुर चन्द प्रतिस्पर्धामा छन् ।
