धनगढी, १७ वैशाख । कैलालीमा १० प्रमुख र ६ जना अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये १० जना प्रमुख र ६ जना अध्यक्ष पदका उम्मेदवार गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
निर्वाचन आयोगले वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधान राखेको थियो। उनीहरुले सोही अनुसार उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी उपमहानगरपालिकामा जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी अञ्जना श्रेष्ठ (मास्के) ले उम्मेदवारी फिर्ता लिएकी छिन्। धनगढीमा उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका जम्मा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
भजनी नगरपालिकामा मेयर पदमा १ र ५ जना वडाध्यक्षसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। टीकापुर नगरपालिकामा २ जना प्रमुख, १ उपप्रमुख ४ जना वडाध्यक्षसहित १२ जना, घोडाघोडी नगरपालिकामा १० वडाध्यक्षसहित २३ जना, गौरीगंगा नगरपालिकामा १ जना मेयर, १ जना उपमेयर, १० जना वडाध्यक्षसहित २७ जना, गोदावरी नगरपालिकामा ६ वडाध्यक्षसहित १७ जना, लम्कीचुहा नगरपालिकामा ५ जना मेयर र ५ जना उपमेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै बर्दगोरिया गाउँपालिकामा २ जना अध्यक्ष र ३ जना वडाध्यक्ष, जानकी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्ष ३ जना र २ जना वडा सदस्य, चुरे गाउँपालिकामा १ जना अध्यक्ष, १ जना वडाध्यक्षसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कैलारी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष ४ र सदस्य २ जना गरेर ८ जना, मोहन्याल गाउँपालिकामा १ जना गाउँपालिका अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् भने जोशीपुर गाउँपालिकामा भने एक जनाले पनि उम्मेदवारी फिर्ता लिएनन्।