काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोग नेपालले यही वैशाख ३० को स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन धम्की आएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।यसबारे सूचना र जानकारी आयोगमा आएकोले सो कार्य नगर्न आयोगले भनेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्ता गतिविधिले संविधान र प्रचलित कानुनबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिनप, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार कुण्ठित हुने भएकाले यस्ता हर्कत नगर्न भनिएको हो।
उम्मेदवार मनोनयनबारे उनीहरुको विरोधमा उजुरी र मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गर्ने काम आयोगबाटै विधिव्यवस्थाअनुसार हुने आयोगले जनाएको छ।
निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ भने १५ गते निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित भइसकेको छ। आज इच्छुक उम्मेदवारलाई मनोनयन फिर्ता गर्न दिइँदै छ।
