डडेल्धुरा, १३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लास्थित परशुराम नगरपालिकाको मेयरमा काँग्रेस युवा नेता भरत बडायर जोशीले उमेदवारी दर्ता गराएका छन्। २०४९ सालमा जोगबुढाको लालढुङ्गामा जन्मेका २८ वर्षीय भरत बडायर जोशीले परशुराम नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
प्रारम्भिक शिक्षा जोगबुढामै रहेको ग्रिनभ्याली बोर्डिङ स्कुलबाट सुरु गरेका भरतले एसएलसीसम्म सोही विद्यालयमा अध्ययन गरेको बताए। उच्चशिक्षा हासिल गर्नका लागि महेन्द्रनगर पुगेका भरतले समाजिक र राजनीतिक जीवन नेविसङ्घका प्रारम्भिक कमिटीबाट सुरुआत गरेको जानकारी दिए।
त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्ससमेत गरेका छन्। कान्छा उम्मेदवार जोशीले उम्मेदवारी दर्ता गराएसँगै जिल्लाभर चर्चा चलेको छ। भरत बडायर नेपाली काँग्रेस परशुराम नगरका सभापति पनि हुन्।
कान्छा उम्मेदवारका रुपमा रहेका भरतसँग प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल९डायमण्ड०को पनि उम्मेदवारी छ। माल पनि परशुराममा पकड राख्ने नेताका रुपमा चिनिन्छन्। मालको पनि सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको स्थानीयवासी बताउँछन्।
मालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि प्रमुखमा मनोनयन दाबी गरेका थिए। उनी झिनो मतका अन्तरले नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित हुन पुगेका थिए। त्यतिबेला माल नेपाली कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउदसँग झिनो मतको अन्तरमा हारेका हुन्।