धनगढी,१२ वैशाख । नेपाली काँग्रेस कैलालीले जिल्लामा पार्टीका तर्फबाट स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार काँग्रेसले पाएको छ वटा तहको प्रमुख र छ तहको उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको हो ।
कैलालीका १३ तहमध्ये धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका, लम्की–चुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको प्रमुख नेपाली काँग्रेसको भागमा परेको थियो ।त्यस्तै गोरीगंगा र भजनी नगरपालिका तथा कैलारी, मोहन्याल, चुरे र घोडाघोडी नगरपालिकामा काँग्रेसले उपप्रमुख पाएको छ ।
धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वडलाई दोहो¥याउने निर्णय केन्द्रले गरेको छ । जिल्लाले टीकापुर नगरपालिकामा नवराज रावल, लम्की–चुहामा भक्तबहादुर थापा, गोदावरीमा बीरेन्द्र भट्टलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।
त्यस्तै जानकीमा पर्शुराम चौधरी, जोशीपुरमा बंशराम चौधरी, बर्दगोरियामा शेरबहादुर कठरियालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको छ । भजनीको उपप्रमुखमा गोकेन्द्र भण्डारी, घोडाघोडीमा रीता चौधरी र गौरीगंगामा भोजबहादुर बम उपमेयर तथा मोहन्यालमा कमल सावद, कैलारीमा भगवती चौधरी चुरेमा धना थापालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको सचिव सुनारले जानकारी दिए ।
कैलालीमा काँग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई तहको नेतृत्व लिने गरी सिट बाँडफाड गरिएको छ ।