धनगढी, २७ चैत । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको दुई दिन बितिसकेको छ। तर, मन्त्रिपरिषद् पुनर्गठनका कारण निवर्तमान बन्न पुगेका एक नेताले दुई दिन पछिमात्रै यसबारे जानकारी पाएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाएका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले आइतबार मात्रै आफूले मन्त्रिपरिषद्मा गरिएको हेरफेरबारे जानकारी पाएको बताएका छन्।
‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त,’ उनले सामाजिक सञ्जाल फेसबुकमा तस्विरसहित लेखेका छन्।एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो।
एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।तर आफूहरुलाई मन्त्रीबाट फिर्ता बोलाउँदै पार्टीले कुनै छलफल नगरेको लामाले नेपालखबरलाई बताएका छन्।
मन्त्रिपरिषद् हेरफेरका लागि हामीसँग कुनै छलफल गरेनन्। गठबन्धनले पनि छलफल गरेको थाहा भएन। पार्टीले पनि हामीलाई सोधेको छैनु, उनले भनेका छन्, उनीहरुले आफैंले फिर्ताको निर्णय गरेका हुन्। तर हामीलाई हटाउनेबारे मलाई जानकारी भएन।
पार्टीले मन्त्रीबाट फिर्ता हुनेबारे जानकारी नदिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। त्यही असन्तुष्टिलाई उनले आइतवार व्यंग्यात्मक भाषामा फेसबुकमा व्यक्त गरेका छन्।
लामाले सम्हाल्दै आएको मन्त्रालयमा एकीकृत समाजवादीले प्रकाश रावललाई पठाएको थियो। आफूले सम्हालेको मन्त्रालयको जिम्मा आफ्नै सहकर्मीले पाएको दुई दिनपछि सामाजिक सञ्जालमा लामाले लेखको स्टाटसले समाजवादीभित्र असन्तुष्टि बढेको संकेत गरेको छ।निर्वाचनमा गठबन्धन जोगाउन भन्दै सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई सामेल गरी शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरिएको थियो।