काठमाडौँ, २२ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन्।
सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए।मन्त्री बडुले अर्ली इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे।
उनले भने, ‘अब संसद सञ्चालन हुन्छ। त्यस्तो अवस्था हो भने त संसद पूर्णकाल सम्म जानुपर्छ। सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त। संसद नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला, स्वभाविक रुपमा यो एजेण्डा उठेको हो कि भन्ने लाग्छ अर्लि इलेक्शनको कुरा। मलाई लाग्छ कुनै एजेण्डा, प्रस्तावको रुपमा आएको पनि होइन। परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो।’
संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए।मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे।
उनले भने, ‘उहाँहरुले नाम पनि दिनुभाछ। हुन्छ र हुन्नको प्रक्रिया (एमसीसी) मा पनि उहाँहरु यद्यपी नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन। तर समर्थन छ। त्यसकारण बहुमतका साथ यो पारित भएको छ। नाम दिनुभएको छ। अब प्रक्रिया अगाडि बढ्छ। हाम्रो चाहाना के हो भने संसद भित्र अत्यन्त जरुरी विधेयकहरु पारित हुनुपर्छ। र त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ।’