काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।आठौं राष्ट्रिय महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू आज राष्ट्रिय सभागृहमा भएको बैठकमा सहभागी छन्।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत उपस्थित भइसकेका छन्।एमसिसी संसदबाट पारित भएको अवस्था, स्थानीय चुनाव, पार्टी पदाधिकारी गठनलगायत विषयमा छलफल गर्न माओवादीले केन्द्रीय कमिटी बैठक गरेको छ।
एमसिसी पारित गर्ने निर्णयमा केही नेताहरूले असन्तुष्टि जनाएकोले आज धारणा राख्न सक्ने सम्भावना पनि छ।गत पुसमा माओवादीले केन्द्रीय कमिटी सदस्यहरू चयन र अध्यक्षमा फेरि प्रचण्डलाई नै जिम्मेवारी दिए पनि पदाधिकारी छान्न सकेको थिएन।
माओवादीमा २९९ सदस्यीय केन्द्रीय कमिटी हुने विधानको व्यवस्था भए पनि केही मनोनीत गर्न बाँकी छ।
