धनगढी,१९ फागुन । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि आज फागुन १९ गते पुनस् मतदान हुदैँछ । गत आइतबार सम्पन्न नेपाली काङ्ग्रेस कैलालीकोे पहिलो चरणको चुनावबाट जिल्ला सभापतिको छिनोफानो हुन सकेन ।
सभापतिका उम्मेदवार तिनै जनाले काङ्ग्रेसको विधान अनुसार मत प्राप्त गर्न नसकेपछि पहिलो चरणको चुनावले सभापतिको छिनोफानो गर्न नसकेको हो ।
जिल्ला सभापति चयनका लागि अब दोस्रो चरणकोः निर्वाचन आज फागुन १९ गते बिहान ८ बजेदेखि कैलीली उद्योग बाणीज्य संघको शभाहलमा हुन गईरहेकोे सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए ।
१४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो । नेपाली काङ्ग्रेसको विधानले सभापतिका उम्मेदवारले जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ ।
निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो । तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् ।
अन्तिम नतिजा अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलले १९७ मत प्राप्त गरे । बम सभापतिमा निर्वाचित हुनका लागि ७४ मत पुगेन । यसैगरी, भट्ट सभापतिमा विजयी हुनका लागि १७१ मत पुगेन । सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि काङ्ग्रेसको विधानले व्यवस्था गरे अनुसार सो पद्का लागि दोस्रो चरणमा चुनाव हुन लागेको हो ।
सबैभन्दा बढी मत प्राप्त गर्नु भएका बम र निकटतम प्रतिद्वन्द्वी भट्टमात्रै अब दोस्रो चरणमा चुनाव लड्न पाउँछन् । सबैभन्दा कम मत प्राप्त गरेका संस्थापन इतर पक्षका रामबहादुर कलेलभने काङ्ग्रेसको विधान अनुसार सभापतिको होडबाट बाहिरिएका छन् । बम र भट्ट संस्थापन पक्षका हुन ।
अब आज हुने दोस्रो चरणमा हुने निर्वाचनमा इतर पक्षको साथ पाउने उम्मेदवार सभापतिमा विजयी हुन सक्ने देखिएको छ । यता सभापति होडबाट बाहिरिएका संस्थापन इतर पक्षका रामबहादुर कलेल र उनको समूहले सभापतिका उम्मेदवार प्रकाश बमलाई समर्थन जनाएको छ ।
सो समूहले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर सभापतिका उम्मेवार बमलाई सहयोग गर्ने जनाएको हो । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कलेलले १९७ मत पाएका थिए । सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि काङ्ग्रेस कैलालीको निर्वाचन थप रोचक बनेको छ ।
सभापतिका उम्मेदबार बमका प्यानललाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाह ‘मनु’ लगायतका नेताहरुको समर्थन रहेको जनाइएको छ । यस्तै, भट्टको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका नेताहरुको समर्थन रहेको बताइएको छ ।