काठमाडौँ, १५ फाल्गुन । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।
आइतबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पूर्वस्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन जोगाउन एमसीसीमा केही लचकता अपनाएका हुन्।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिन थालेपछि पुनः प्रतिगनकारी शक्ति अगाडि आउने भो भनेर एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।
यसबीच कुनै ट्विस्ट भएन भने आज सत्ता गठबन्धनका चार दल (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) बीच एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा औचापरिक सहमति हुनेछ। त्यसका लागि नेताहरू बालुवाटारमा भेला हुने क्रम सुरु भएको छ।
एमसीसी प्रस्तावमा छलफलका लागि भनेर आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।