काठमाडौँ, १० फाल्गुन । नेकपा एमालेका नेता भीम रावलले आफूले प्रतिनिधि सभाको बैठकमा एमसीसीविरुद्ध बोल्दा पार्टीले स्पष्टीकरण लिन लागेको बताएका छन्।
प्रमुख प्रतिपक्षी एमालेले माधव नेपाललगायत आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदबाट बर्खास्त भएको सूचना टाँस नगरेसम्म संसद् चल्न नदिने भन्दै भदौदेखि हरेक बैठकमा निरन्तर नाराबाजी गरिरहेको छ। र, आफ्नो माग पूरा नहुँदासम्म संसदमा प्रस्तुत हुने कुनै पनि विषयमा सहभागी नहुने अडान लिइरहेको छ।
त्यस्तो अवस्थामा एमाले नेता रावलले गत आइतबार प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्दै गर्दा विरोधमा विचार राखेका थिए।
–एमसीसीबारे भीम रावलको गम्भीर आपत्ति, जनताको आवाज कुल्चिएको आरोप
तत्कालै एमालेले उनलाई बोल्न दिइएको भन्दै आपत्ति जनाएको थियो।
–भीम रावललाई संसदमा बोल्न दिइएपछि एमालेको आपत्ति
त्यसको ३ दिनपछि आज नेता रावलले यस विषयमा आफ्नो पार्टीले स्पष्टकीरण लिन लागेको संकेत गरेका हुन्।
‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘के अब देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको होरु’
भीम रावल गत मंसिरमा चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग हारेका नेता हुन्। पार्टीले उनलाई केन्द्रीय सदस्य चयन गरेको भए पनि त्यो पद अस्वीकार गरेर केन्द्रीय कमिटी बाहिरै बसेका छन्।