काठमाडौं, ६ माघ । बैतडी घर भइ महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक९सई० पदम अवस्थीमाथि खुकुरी प्रहार गर्ने शनि तामाङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका रामेछापको मन्थली लिखु गाउँपालिकाका २९ वर्षीय शनि तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन्।
उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। पुस १० गते राति पौन १ बजेतिर तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक दोलखाको चरिकोट गाउँपालिका–१ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुवास तामाङसँग शनिको सामान्य विवाद भएको थियो।
विवाद हुँदा शनिले सुवासलाई खुकुरी प्रहार गरी फरार भएका थिए। सई अवस्थीको टोलीले उनलाई पक्राउ गर्न लखेट्दै जाँदा प्रहरीमाथि नै खुकुरी प्रहार भएको थियो। सई अवस्थी खुकुरी प्रहारबाट आफू घाइते हुँदा पनि शनिलाई पक्राउ गर्न सफल भएका थिए।