टीकापुर १ माघ/कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलिले पहिलो चरणको सर्वे गरेको छ । प्राधिकरणका इन्जिनियर रत्न प्रसाद श्रेष्ठको टोलिले विमानस्थलको प्रारम्भिक सर्वेको काम सुरु गरेको हो ।विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आएको भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा विमानस्थलको आवश्यक संरचना निर्माणका लागि भन्दै दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोलि पहिलो चरणको सर्वेको लागि आएको प्राधिकरणका इन्जिनियर श्रेष्ठले बताए ।
‘यो अहिलेको प्रारम्भिक चरणको सर्वे हो । यसैको आधारमा हामिले सम्भाब्यताको प्रतिवेदन प्राधिकरणलाई बुझाउँछौ ।’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यसपछि अर्को प्राबिधिक टोलिले आवश्यकताको आधारमा सर्वे गरेपछि विमानस्थल निर्माणको कार्य अगाडि बढ्छ ।विमानस्थलको लम्बाइ एक हजार दुई सय ५० मिटर रहेको बताउँदै ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको बताए । चौडाइमा भने अलिकति कम हुन्छ कि जस्तो देखिएको बताउँदै सानो टुइनेटर जहाजका लागि कुनै समस्या नरहेको इन्जिनियर श्रेष्ठले बताए ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाई सेवा सशस्त्र द्वन्दको समयदेखि बन्द भएको थियो । त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दलहरू र सरोकारवालाहरुको समन्वयमा विमानस्थलको जग्गा खाली गराएर पुनः विमानस्थल सञ्चालनको प्रयास भएपनि त्यो सफल नहुँदा अहिले विमानस्थल स्थानीयका पशु चौपाया चराउने थलो बनेको छ । २०७६ सालमा टीकापुर उद्योग वाणिज्य संघले विमानस्थल सञ्चालनका लागि एक सुत्रीय माग सहित टीकापुर महोत्सव सञ्चालन गरेको थियो । वाणिाज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुर विमानस्थल सञ्चालनमा आउनसकेको अवस्थामा व्यापारिक दृष्टिकोणले धेरै राम्रो हुने बताए ।