पर्सा, ३० पुस । पर्सामा एकजना रिक्सा चालकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।वीरगञ्ज महानगरपालिका–२३ इटियाहीमा केही दिनअघि रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको बिहार घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बिहारको पूर्वी चम्पारण मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैन छन्। आरोपी अर्का एकजना फरार रहेका प्रहरीले जनाएको छ।
आपसी झगडाको क्रममा उनीहरुले फलामे रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
हत्या गरिएका मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए। उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका स्थानीयले बताएका छन्।मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको खनालले बताए।