धनगढी, ७ पुस । कैलालीको जानकी गाउँपालिकाका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कार्बाहीको माग गर्दै स्थानीय चरणवद्ध आन्दोलनमा छन्। हत्यामा संलग्नलाई पक्राउ गर्दै कार्बाहीको दायरामा ल्याउनपर्ने माग उनीहरुको छ। यस्तै हत्याको विरोध र दोषीलाई कार्बाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरिएको छ। उनीहरुले हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने लगायतका नारा लगाएका छन्।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने, मृतकका सन्तालाई निस्शुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग स्थानीयले राखेका छन्।
पुस २ गते साँझ घरबाट निस्केका दास ३ गते घाँटी रेटेर टाउको अलग गरिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेका थिए। प्रहरीले हत्यामा संलग्नको संलग्नको पहिचान भइसकेको दाबी गरेको छ। ‘हत्यामा संलग्नको पहिचान भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘पहिचान भएका व्यक्तिको खोजी भइरहेको छ। छिट्टै नतिजा आउछ भन्नेमा ढुक्क छौं।’
उनका अनुसार दासको हत्यामा ४ देखि ५ जना संलग्न छन्। हत्याको कारण भने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। ‘हत्यापछि बाहिरिएको फोन रेकर्डमा एउटा मोबाइल हराएको भन्ने सुनिन्छ,’ उनले भने, ‘त्यो मोबाइल नै हो वा कोट भाषा हो रु छुट्याउन सकिएको छैन।’ प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
‘पक्राउ परेका व्यक्तिबाट हत्या प्रकरणबारे केही खुलेको छैन,’ उनले भने। प्रहरीले दासको शव पोस्ट मार्टमका लागि सोमबार टीकापुर अस्पतालमा राखेको छ। मृतकका आफन्तले भने दोषीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएका छन्।