धनगढी- रुडुक नेपालकी महासचिव ज्योत्सना साउनले शिविरमा बस्दै आएका विपन्न परिवारलाई साइकल वितरण गरेकी छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ मा रहेको बसन्तुपुर शिविरमा रहेका विपन्न परिवारलाई प्रति परिवार एक साइकलका दरले साउदले मंगलबार साइकल वितरण गरेकी हुन्।
ज्याला मजदुरी गर्दै आएका परिवारलाई आफ्नै दैनिकी सञ्चालनमा सहज होस् भन्ने उद्देश्यले साउदले उक्त साइकल वितरण गरेकी हुन्। उनले भनिन्, ‘उहाँहरु दैनिक ज्यालामजदुरी गरेर आफ्नो जीविको पार्जन गर्दै आउनु भएको रहेछ। उहाँहरुलाई आवतजावतमा सहज होस् र बालबालिकाहरुलाई विद्यालय लैजान र पुर्याउन सहज होस् भनेर साइकल वितरण गरेकी हुँ।’ ग्रामीण समुदाय रहेको र राज्यको निकायले पनि खासै ध्यान नदिएको उक्त शिविरमा साउदले थप आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।
उक्त शिविरमा १९ परिवारको बसोबास रहेको छ। साउदले यसअघि पनि कञ्चनपुरका विभिन्न शिविरमा बस्दै आएका महिला तथा बालबालिकाका लागि लुगा कपडा, झुल, पंखाहरु र पौष्टिक आहार वितरण गरेकी थिइन्। कोरोना महामारीका समयमा पनि साउले संक्रमितलाई उद्धार र उपचार तथा संक्रमण नभएकाहरुलाई संक्रमण हुन नदिनका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकी थिइन्। कञ्चनपुरका विभिन्न ठाउँमा बाढीपीडित तथा आरक्षपीडितहरु शिविरमा बस्दै आएका छन्। सुकुम्बासी तथा आरक्षपीडितहरुलाई लालपुर्जा उपलब्ध गराउने अभियानमा नेपाली कांग्रेसका नेता एनपी साउँद लागिरहेका छन्।