काठमाडौं, २९ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौंबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिए । सोही क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी समेत दिए ।
साथै भेटवार्ताका क्रममा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाइ उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चाँसो व्यक्त गरेकी थिइन् ।
राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफुहरु तयार रहेको बताएका थिए । नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिए ।
भेटवार्ताकै क्रममा राजदूत गोदरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रबिधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रणा समेत गरे । दुई हप्तापछि उक्त कार्यक्रम नेपालको सोल्टी होटेलमा उद्घाटन गरिने जनाइएको छ ।
भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरे ।
नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा मार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदुत गोदरसँग आग्रह गरे । सो विषयमा राजदुत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिएका छन् ।