हेटौँडा,२१ कार्तिक । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ ।बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।
सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।