धनगढी ११ कार्तिक/ धनगढी उपमहानगरपालिका वडा नम्बर १९ की कल्पना रानाभाटले प्रतिक्विन्टल दुई हजार ५० रुपैयाँका दरले धान बिक्री गरिन् । घरमा पैसाको खाँचो भएपछि उनले नजिकैको खाद्यान्न पसलमा पाँच क्विन्टल धान बिक्री गरेको बताइन् ।यो मूल्य सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम हो । सरकारले यस पटक मोटो धानको न्यूनतम मूल्य दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ ।
तर, कल्पनाले छ सय ८५ रुपैयाँ कम मूल्यमा पाँच क्विन्टल धान बेचिन् । उनले भनिन्, ‘मलाई सरकारले तोकेको धानको मूल्य थाहै छैन । गत वर्ष एक हजार नौ सय रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्री गरेकी थिएँ । यस वर्ष एक सय रुपैयाँ बढीमा बिक्री गरेँ ।’उनले दशैँअघि धान काटेर कुन्यु लगाएकी थिइन् । असोज ३१ देखि चार दिनसम्म परेको बेमौसमी वर्षाका कारण उनको धानमा पनि निकै क्षति भयो ।‘वर्षाले धान बिगारेको छ । दाना काला परेका छन् । अहिले सस्तोमा धान बेचेँ । अब घरमा खानका लागि महँगोमा चामल किन्नुपर्ने बाध्यता छ ।’
सरकारले धानबाली भित्र्याउनुअघि नै मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ ।तर, कैलालीका अधिकांश किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा छ सयदेखि एक हजार रुपैयाँ सस्तोमा धान बिक्री गरिरहेका छन् । धेरै जनाले मोटा धान प्रतिक्विन्टल एक हजार आठ सयदेखि दुई हजार ५० सम्म बिक्री गरिरहेको बताए ।खाद्यान्न व्यापारीहरू भने अझैं धानको मूल्य कम गरिरहेका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ मा गल्ला व्यापार गरिरहेका व्यापारी किसान चौधरीले धानको गुणस्तर हेरेर मात्रै खरिद गर्न सकिने बताए ।
‘दशैँअघि भित्र्याएको धान राम्रो छ । तर, त्यसपछि काटेको र भित्र्याएको धान वर्षाले बिगारेको छ । त्यसैले धान हेरेर मात्रै खरिद गरिरहेको छु’, उनले भने, ‘राम्रो धान भए प्रतिक्विन्टल दुई हजार ५० र खराब धानको एक हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टलमा खरिद गर्ने गरेको छु ।’ उनले अहिले धान बिग्रेकाले सरकारले पनि खरिद गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरे । ‘धानमा अलिकति धुलो हुँदा त खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फिर्ता पठाउँथ्यो भने अहिले त धेरै धान बिग्रेको छ’, उनले भने, ‘यो धान सरकारले लिँदैन होला ।’