धनगढी, १० कार्तिक/बेमौसमी बर्षले खेतमा धान भिजेको र बगेको चिन्ता भइरहेका बेला किसानलाई पराल कुहिएको चिन्ता पनि थपिएको छ । अन्नजन्य उप–पदार्थबाट निस्कने पराल कुहिँदा बस्तुभाउ पालन गर्ने किसानलाई चिन्ता थपिएको हो । ‘धान त भिज्यो, त्योसँगै पराल पनि भिजेर कुहिएको छ,’ धनगढी–६, जालीगाउँका किसान गजैसिंह देउवाले भने,‘पराल भिजेपछि अब पशुबस्तुलाई के खुवाउने भन्ने पिरलो परेको छ ।’ भिजेको पराल कुहिनुका साथै ढुसी लाग्ने गरेको बताउँदै उनले भने,‘यस्तो ढुसी लागेको पराल गाईबस्तुले खाँदैनन्, खाए पनि बिरामी पर्ने गरेका छन् ।’
वर्षातले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी उत्पादन हुने पराल कुहिएको हो । कैलाली र कञ्चनपुरमा मात्रै ५० मेट्रिक टन पराल उत्पादन हुने गरेको वरिष्ठ पशु विकास अधिकृत अवस्थीले बताए । उनले भने,‘यहाँ उत्पादन हुने ५० मेट्रिक टन मध्ये ९० प्रतिशत बढी कुहिएको छ र बचेको पराल पनि पानीमा भिज्दा ढुसी परेको छ ।’ कुहिएको पराल बाहेकको भिजेको परालमा ढुसी पर्दा पशु आहाराका लागि खुवाउन योग्य नहुने उनले बताए । भिजेको परालमा ‘फ्युसारियम’ र ‘एस्परजिलर्स’ नामक खतरानाक ढुसी लाग्ने भएकोले यस्तो पराल पशुलाई खुवाउँदा पाचन प्रणाली कमजोर हुने, छाला तथा खुर लगायत बाह्य भागमा पनि असर पर्नुका साथै पुच्छर झर्ने रोग लाग्ने गरेको उनले बताए । ढुसीजन्य रोगका कारण सबैभन्दा बढी थुनेलो रोग लाग्नुका साथै पशुबस्तु तुहिने सम्भावना बढी हुने गरेको उनले बताए ।
सुदूरपश्चिममा गाई १६ लाख ४६ हजार २ सय ७८ र भैँसी ५ लाख ९९ हजार ३५ रहेका छन् । जसको ४५ प्रतिशत आहारा भनेकै पराल हो । पराल नहुँदा पशुवस्तुलाई यस वर्ष भोकमरीको समस्या थपिने उनको भनाइ छ । पशुवस्तुलाई खुवाउने पराल कुहिएर अभाव भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले घाँसका बीउविजनका साथै घाँस खेतीमा विशेष कार्यक्रम ल्याइने बताइएको छ । ६० दिनमै तयार हुने खालका घाँसका बीउ लगाउन किसानलाई सल्लाह उनले बताए ।