सरस्वती साफरी
धनगढी १० कार्तिक/धनगढी उप–महानगरपालिका भित्र ईलेक्ट्रिकल अटो रिक्साको चाप बढ्दै गएको छ । अटोरिक्साको चाप बढेसंगै नगरमा दुर्घटनाको जोखिम समेत बढेको छ । धनगढीको मुख्य सडक खाल्डाखुल्डी भएको र अर्कोतर्फ क्षमताभन्दा बढी अटोरिक्सा चल्दा सडक जाम हुनुको साथै दुर्घटना समेत बढेको छ ।
दैनिक सानाठूला सवारीसाधनसंगै क्षमताभन्दा बढीले अटोरिक्सा चलेपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ । समयमै सडकको अवस्था सुधार गरेर अटोरिक्सा व्यवस्थित गर्नुपर्ने धेरैको माग छ । अस्तव्यस्त सडक समयमै व्यवस्थापन गर्न नसके दुर्घटनाको जोखिम अझै बढ्न सक्ने धेरैको बुझाई छ ।
‘अटोरिक्साले सडक भरीएको छ’ सुरेश चौधरीले भने, ‘साघुरो सडकमा हिड्डुल गर्न समेत समस्या छ ।’ उनले सहज आवागमनका लागि सडकको अवस्था सुधार गर्दै अटोरिक्सा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।ध्नगढी उप–महानगरपालिका–५, जाईका अटो चालक पारस बिसीले अन्य ठाउँका लागि दर्ता भएका अटो रिक्सा यहाँ आएर चलाउँदा समस्या भएको बताए । उनले जुन ठाउँका लागि भनेर दर्ता भएको हो सोही ठाउँमा अटो चलाए पनि समस्या समाधानमा सहयोग पुग्ने बताए । उनका अनुसार उमेर नपुगेका व्यक्तिले समेत अटोरिक्सा चलाउँदा दुर्घटनाको जोखिम बढेको बताए ।
अटो रिक्सा मजदुर संघ कैलालीका अध्यक्ष लाल बिकले धनगढीका लागि एक हजार पाँच सय यतै रिक्सा भए प्रयाप्त हुने भएपनि २५ सय अटो रिक्सा धनगढी नगरमा गुडिरहेको बताए । ‘कैलाली जिल्लामा पाँच हजार एक सय अटो रिक्सा दर्ता भएका छन्’ अध्यक्ष बिकले भने, ‘सोमध्ये एक हजार पाँच सय ई र एक हजार बढी पेट्रोल रिक्सा चलिरहेको छ । सडक क्षमताभन्दा बढी अटो चल्दा सडक जाम हुने, दुर्घटनाको जोखिम बढेको छ ।’ पहिले जुन ठाउँमा दर्ता भएको त्यही अटो चलाउनुपर्ने कुरा भएको थियो अध्यक्ष बिकले भने, ‘अहिले प्रदेशका अन्य पालिका र जिल्लामा दर्ता भएका रिक्सा पनि यही चलिरहेका छन् ।’ उनले चार हजारले अटोरिक्सा चलाउने लाईसेन्स पाएपनि अन्य लाईलेसन्स बिना अटो चलाईरहेको बताए । चार लाख बढी मूल्य पर्ने अटोरिक्सा चालकलाई लाईसेन्सका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनले बताए ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अरु ठाउँमा दर्ता भएका अटोरिक्सा उपमहानगरपालिकामा चल्दा समस्या भएको बताए । ‘पहिले हामीलाई अधिकार दिईएको थियो । हामीले सात सय जति मात्र दर्ता गरेका थियौं ।’ उनले भने, अहिले प्रदेश मातहत छ । उसैले दर्ता गरीरहेको छ । चाहिनेभन्दा बढी दर्ता गर्दा समस्या भएको छ ।
धनगढी ट्राफिक प्रहरी कार्यालयका प्रमुख विरेद्र बोहोराले धनगढी यातायात कार्यालयमा धेरै पटक पहल गरेको भए पनि यसको व्यवस्था हुन नसकेको बताए । ‘क्षमता भन्दा बढी अटो दर्ता भएको हुर्दा दुर्घटना बढी हुने गरेको छ’ कैलालीका ट्राफिक प्रहरी प्रमख बोहराले भने–‘स्थानिय तह र धनगढी उपमहानगरपालिकाले आफ्नो वडा भित्र कति वटा अटो रिक्सा चल्ने जोर विजोर लागु गरेसगै रुट तोक्ने नियम गरेको भए बजारमा अटो रिक्सा व्यबस्थित हुने थिए ।’ अहिले अटोको धनगढी बजारमा ११ सय मात्र अटो चल्नु पर्ने हो तर दिनप्रति दिन बजारमा बढ्दै गएको देखिन्छ उनले भने । सार्वजनिक अटो ७ हजार र निजी अटोको सख्या ३ हजार गरेर जम्मा १० हजारको हाराहारीमा अटो चलिरहेको बोहोराले बताए ।
धनगढी उपमहानगरपालिकाले अटो रिक्सा व्यवस्थि गर्नेलाई नया दर्ता बन्द गर्ने, जोरविजोरको प्रणाली लागु गर्ने, अटो रिक्साका रुट निर्धाण गर्नुपर्ने, अस्थायी लाईसेन्सको व्यवस्था गरे व्यबस्थित हुने कैलालीका ट्राफिक प्रहरी कार्यालयका प्रमुख बोहोराको सुझाव छ ।
