टीकापुर, ५ कात्तिक/प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको टीकापुर क्षेत्रकमा हुने बाढीको समस्या समाधानका लागि दूरगामी योजना ल्याईने बताएका छन । शुक्रबार कैलालीको पूर्वी क्षेत्रमा बाढीले पारेको असरका बारेमा निरिक्षण गर्न पुगेका देउवाले सरकार बाढी पीडितको समस्या समाधानका निमित्त चिन्तित रहेको बताए ।
हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए ।उनले काठमाण्डौं फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्ने बताए । प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्रति दुःख लागेको बताउँदै सरकार आगामी दिन जनताले यस्ता खालका समस्या भोग्न नपरोस् भन्नेमा चिन्तित रहेको बताए । उनले जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन । उनले त्यहाँ समेत बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवा बाढी पहिरोले क्षति पुर्याएका सुदूरपश्चिमका विभिन्न जिल्लाको अवलोकन भ्रमणमा रहेका छन । उनीसँगै नेपाल सरकारका अर्थमन्त्री जनादर्न शर्मा, पर्यटन मन्त्री प्रेमबहादुर आले लगायत सहभागी छन ।
टीकापुर क्षेत्र अस्तव्यस्त : डा. रावल
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १को ‘ख’का संसद डा. रणबहादुर रावलले टिकापुरको अबस्थाका बारेमा ‘ब्रफिङ्ग’ गरेका छन् । डा. रावलले टिकापुर क्षेत्र बाढीले पुरै तहसनहस बनाएको जानकारी प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
टीकापुरका मेयरको प्रधामन्त्रीलाई ज्ञापनपत्र
प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल लगायत काँग्रेस र नेकपा एमाओवादीका नेताहरुले ज्ञापन पत्र बुझाएका छन । उनीहरुले ज्ञापन पत्रमा बाढीको दीर्घकालिन समस्या समाधानका लागि पहल गरिदिन माग गरेका छन ।
उनीहरुले बाढीका कारण कैयौं मानिसहरुले घरबार र अन्नबाली गुमाउनु परेको भन्दै राहतको प्याकेज ल्याउन समेत माग गरेका छन ।
