धनगढी,३ कार्तिक । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अवरुद्ध भएको नेपाल टेलिकमको फोन सेवा आंशिक रुपमा सुचारु भएको छ।
आइतबार रातिदेखि अवरुद्ध भएको टेलिफोन सेवा आंशिक रुपमा सुचारु भएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक नामाकर न्यौपानेले जानकारी दिए।
‘विभिन्न क्षेत्रामा घाम लागेपछि टेलिफोन सेवा पनि सुचारु भएको छ,’ उनले भने, ‘डडेल्धुरा लगायत केही जिल्लाका सदरमुकाममा फोन सेवा सुचारु भइसकेको छ। इन्टरनेट सेवा भने अझै सुचारु हुन सकेको छैन।’
अप्टिकल फायवर चुडिएपछि इन्टरनेट सेवा सुचारु गर्न समस्या भइरहेको प्रादेशिक निर्देशक न्यौपानेले बताए। ‘मर्मतको कार्य भइरहेको छ, आज साँझसम्म सुचारु होला भन्ने आशा छ,’ न्यौपानेले भने।
पहाडी जिल्लामा विद्युत सेवा भने अझै सुचारु भएको छैन। विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार प्रसारण लाइनमा समस्या आएकाले मर्मत भइरहेको छ।
