टीकापुर, ३ कार्तिक । अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको अधिकांश भाग डुबानमा परेका छन् ।
कर्णाली नदीका बिभिन्न भागमा निर्माण गरिएको तटबन्ध भत्किनुका साथै रानी जमरा कुलरिया र ज्ञानी कुलोमा पानीको उच्च बहाव हुदा टीकापुरका अधिकांश भाग डुबानमा परेका हुन् ।
ज्ञानी कुलो र जमरा कुलोमा पानीको बहाव उच्च हुदा टीकापुरको ब्लक न ८ जलमग्न भएको छ । जमरा कुलोको पानीले टीकापुर बजार क्षेत्र पनि जलमग्न भएको छ ।
टीकापुर नगरपालिका– ५ सिमरैनीमा कर्णालीको झन्डै १०० मिटर बाँध फुटेपछि कर्णाली नदी बस्ती र खेतमा पसेको छ । कर्णाली नदीको बाढीले शाहीपुर, बनगाउँ, धनसिंहपुर, सत्ती डुबानमा परेको छ ।
हुलाकी सडक र अरुणाफाँटा जलमग्न भएको । बनगाउँ र सति बजारसंग जोडिएको बर्दिया जोड्ने हुलाकी मार्ग कर्णाली नदीको बाढीले बगाउदा बर्दियासंगको सडक सम्पर्क टुटेको छ ।
टीकापुर वडा न २ बजार पनि जमरा बाट पानी आएर भरिदै छ । वडा नम्बर न ५,६,७,८,९ को अधिकांश खेतीयोग्य जमिन जलमग्न भएको छ । ब्लक न २० पनि जलमग्न भएको छ । ब्लक न १८, १९ र २० पनि डुबानमा परेको छ । ब्लक न १८ को झनक राज ओझाको घर र धान मिल डुबानमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले कर्णाली नदीमा आएको बाढीले टीकापुर क्षेत्रका अधिकांश भागमा डुबानमा परेपनि मानवीय क्षति नभएको पश्चिम टुडेलाई बताए ।
सुदूर पश्चिम प्रदेश सभामा नेपाली काँगे्रस संसदीय दलका नेता रण बहादुर रावलले बाढी र पहिरोबाट मृत्यु, घाईते तथा प्रभावित भएकाहरुको राहत र उद्दारमा तत्काल पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।