धनगढी, २० असोज । धनगढीको होटल साथी सबै भत्काएर सुविधा सम्पन्न र अत्याधुनिक बनाइने भएको छ। एक अर्ब रुपैयाँको लागतमा १४ कठ्ठा जग्गामा निर्माण हुनेछ। होटल संचालक दिनेश भण्डारीले होटल निर्माणको काम सुरु भइसकेको बताउँदै दुई वर्षभित्र निर्माण सक्ने गरि काम अघि बढाइएको जानकारी दिए।
पूरानो होटलको केही विङस भत्काइसकिएको छ। अब हामीसँग २५ वटा कोठा मात्रै छ, “उनले भने, “माटो परीक्षण र प्रारम्भिक वातावरणीय परीक्षणको काम सकिसकेका छौं।”
उनका अनुसार नौ तलाको होटलमा १ सय १ वटा कोठा हुनेछ। होटलमा प्रेसिडेन्सियल स्वीट, स्वीट रुम र डिलक्स रुम हुनेछ। पुरानो होटलमा रहेको प्रेसिडेन्सियल स्वीट थियो। धनगढी जाँदा वहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायतका भीआइपी त्यही प्रेसिडेन्सियल स्वीटमा बस्ने गर्थे।
भण्डारीले नयाँ होटलमा समेत अढाई सय स्क्वायर फूटको प्रेसिडेन्सियल स्वीट बाँकी छ। होटलमा विवाह, ब्रतबन्ध लगायतका सामाजिक कार्यलाई मध्यनजर गर्दै हजार जना अटाउने ब्यांकेट हल समेत निर्माण हुँदैछ।
धनगढी वरपरको विवाह लगायतका सामाजिक कार्यका लागि होटलको प्रयोग ब्यापक हुन थालेको छ। यो वाहेक भारतीय समेत नेपाल आएर विवाह गर्न थालेका छन्। त्यही देखेर हामीले ठूलो ब्यांकेट हल बनाउन लागेका हौ, भण्डारीले भने, धनगढीसँग पाँच घण्टाको दुरीमा उत्तर प्रदेश छ। त्यहाँको जनसंख्या मात्रै २२ करोड छ। त्यसको केही अंश मात्रै धनगढी आए भने व्यापारको कुनै समस्या हुँदैन्।
होटलको बेसमेन्टमा डेढ सय गाडी अटाउने पार्किङ हुनेछ। होटलको माथि इन्फिनिटी स्वीमिङ पुल हुनेछ। होटलमा तीन वटा रेष्टुरेन्ट हुनेछ। नौ तल्लामा रुफटप रेष्टुरेन्ट समेत हुने उनले बताए।
होटलमा सबै भन्दा आकर्षक भनेको लाइभ क्यासिनो हुनेछ। पछिल्लो समयमा भारतीय पर्यटक क्यासिनो खेल्नकै लागि धनगढी आउने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरेर क्यासिनोमा ठूलो लगानी गर्न खोजिएको भण्डारीले बताए।
दुई तल्लामा १० हजार स्क्वायर फूटमा क्यासिनोका लागि छुट्याउँदैछौं। धनगढीमा रहेका ९ वटा क्यासिनो भन्दा राम्रो बनाउने प्रयास गरिरहेका छौं, उनले भने।
भण्डारीका अनुसार क्यासिनो आफैले संचालन गर्ने वा विदेशी ल्याउने बारेमा भने निर्णय भइसकेको छैन्। होटलमा सुविधा सम्पन्न सेमिनार हल समेत हुनेछ। धनगढीसँगै नजिकै रहेको भारतको रुद्रपुरमा चार सय उद्योग छन्।
ती उद्योगले गर्ने वार्षिक रिट्रिटका कार्यक्रम मात्रै ल्याउन सकेमा व्यापारलाई समस्या नहुने भण्डारीले बताए। होटलको डिजाइन र स्ट्रक्चरको काम दुषित थानीले गर्दैछ। पाँच तारे होटल बनाउँदा डिजाइन र स्ट्रक्चरको काममा सम्झौता गर्न भएन,उनले भने, त्यही भएर दुषित थानीको टीमलाई हामीले हायर गरेका हौं।