सरस्वती साफरी
धनगढी, १६ असोज/हिन्दु धर्ममालम्वीहरुले पितृ सम्झदै गरीने सोह्रश्राद्धमा मासुको ब्यापार घटेको छ भने तरकारीको माग बढेको छ । आफ्ना पितृहरुलाई सम्झदै सोह्रश्राद्धमा माछामासु र लसुन प्याजलाई बार्ने गर्दछन् । अहिले बजारमा मासुको माग ह्वातै घटेको छ । मासुको कारोबार रामै्र हुने धनगढी बजारमा अहिले घटेको व्यबसायी बताउछन् ।
माग घटेपछि मासुको मुल्य समेत घटेको छ । मासुको मुल्य घटेसगै व्यापारमा कमी आएको धनगढीको हसनपुर राष्ट्रबैैक चौकका सेन्ट्रल मासु पसलका संचालक गोकर्ण चौधरीले बताए । ‘पहिला मासु दिनको ५०केजि देखी एक क्युन्टल सम्म विक्रि हुने थियोे’ सेन्ट्रल मासु पसलका संचालक चौधरीले भने–‘अहिले दैनिक मासुको कारोबार पुरै घटेको छ ।’ अहिले व्यापार घटेर दिनमा बढीमा २५ केजी मात्र विक्रि हुने गरेको छ । मासुको मुल्य घटे पछि धेरै घाटा भएको चौधरीले बताए ।
दैनिक एक क्युन्टल सम्म बिक्रि हुने मासु अहिले घटेर दिनमा ६० केजि सम्म मात्र विक्रि हुने गरेको अर्का मासु व्यापारी हिमचुली मासु पसलका संचालक आशाराम चौधरीले बताए । बोइलर कुखुराको मासु घटेर प्रति केजि २८० पुगेको समेत उनले बताए । सिटी मिट्सका संचालक सञ्जु कुवरको भनाई पनि अन्य मासु व्यबसायी जस्तै छ । पहिले दुई क्युन्टल मासु बिक्री हुने आफ्नो पसलबाट अहिले घटेर ३०/३५ केजी मात्रै हुने गरेको उनले बताए ।
कोरोना कहर बिच थला परेको व्यपार उम्कीन थलेपछि सोह्रश्राद्ध संगै मासुमाछा कारोबारी व्यबसायी मारमा परेका छन् । श्राद्ध सकिय संगै मासुको कारोबार बढ्ने आशा मासु व्यापारीले लिएका छन् ।मासुको कारोबार घटेपनि शाकाहारी बस्तुहरुको कारोबार भने बढेको छ । अहिले तरकारी तथा डेरी पसलमा भिडिभाड देखिन्छ । अहिले तरकारीको माग ह्वातै बढेको हसनपुरका तरकारी व्यापारी फ्रेसफुड कर्नरका संचालक किशन शर्माले बताए । अहिले आफ्नो कारोवार दोब्बरले बढेको उनको भनाई छ । पहिले दैनिक दुई हजार जतिको हुने तरकारीको कारोवार अहिले छ हजार सम्म पुग्ने गरेको शर्माको भनाई छ ।
अहिले बजारमा तरकारीको मुल्य बढेर आलु प्रति केजि ३५, काक्रा प्रति केजि ६५ र टमाटर प्रति केजि ५० पुगेको युनिक तरकारी पसल शिबनगरका संचालक भानु जोशीले जानकारी दिए । अहिले तरकारीमा सबै भन्दा बढी बेचिने आलु र काक्रा रहेको जोशीले बताए । अहिले दिनमा १७ हजार सम्मको तरकारीको कारोबार हुने उनको भनाई छ ।सोह्र श्राद्धमा रेष्टुरेन्टमा पनि मांशाहारीको कारोबारमा कमी आउने गरेको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए । उनले भने,‘सोह्र श्राद्धमा टिनएजरलाई त्यति फरक नपरे पनि अलि उमेर छिप्पिएका व्यक्तिहरु भने अहिले पनि ‘ननभेज’का परिकार खान मान्दैनन् ।’ अहिले मांशहारीमा ५० प्रतिशतले व्यापारमा कमी आएको उनले बताए ।
सोह्र श्राद्ध चलिरहेकाले पछिल्ला दिनहरुमा मासुका परिकार बिक्री घटेको शुभारम्भ होटेल बसपार्कका सञ्चालक मनोज देउवा बताउँछन् । ‘सोह्र श्राद्धले मासु मात्रै नभई मदिराको समेत बिक्री घटेको छ,’ उनले भने । धार्मिक परम्पराअनुसार सोह्र श्राद्ध भरी यहाँका प्रायःले माछामासु, अण्डा र लसुन, प्याज खाँदैनन् । मासु खानेहरु नै अहिले सोह्र श्राद्ध चलिरहेको भन्दै ‘भेज’ का परिकार रोज्न थालेको उनले बताए । ‘मासुका परिकार खान आउने ग्राहकहरु नै हिजोआज श्राद्ध चलिरहेको बताउँदै ‘भेज’का परिकार ‘अर्डर’ गराउँछन्,’ उनले भने । श्राद्धले गर्दा कुखुरा र खसीको मासुका साथै माछाको व्यापार घट्दै गइरहेको उनले बताए ।
सोह्र श्राद्धमा भेजका परिकार खाने बढे पनि माछामासुका परिकार खानेको संख्या प्रायः शून्य नै भएको उनको भनाइ छ ।’ पूजापाठ तथा श्राद्ध अन्तरआत्मादेखि नै श्रद्धाले गर्ने कार्य भएकाले त्यस्तो कार्य गर्दा उग्र भोजन गर्नु हुन्न भन्ने मान्यता रहेको पण्डित तीर्थराज ओझा बताउँछन् ।