पहलमानपुर, १९ भदौ । घोडाघोडी नगरपालिका १० पहलमानपुर देखि हुलाकी राजमार्ग जोड्ने पहलमानपुर लालबोझी सडक खण्ड हिलाम्मे तथा जिर्ण भएको छ । सडक निर्माणमा दिर्घकालिन समाधान नअपनाउँदा बर्सेनि स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका छन् ।
सो सडक खण्डको लठैयामा वर्षाको पानीले बाटो कटान भैरहेको हुंदा बाँकी रहेको बर्षातको समयमा सडक यात्रा जोखिमपूर्ण रहेको स्थानीय बासिन्दा प्रताप चौधरीले बताए ।
सडकको विभिन्न स्थानहरुमा ठुलठुला खाल्डा खुल्डी परेर मोटरसाइकल, एम्बुलेन्स र ढुवानीका सवारीसाधन आवजावतमा समस्या भएको चौधरीले बताए ।
सडकको अवस्था जोखिमपूर्ण भएकाले बिरामी, गर्भवती महिला, बृद्धबृद्धा र स्कुले बालबालिकाले सास्ती भोग्नुपरेको घोडाघोडी नगरपालिका – ११ जवलपुरका प्रविन कठरियाले बताएका छन् ।
सडक तत्काल मर्मत सम्भार नगरिएमा पहलमानपुर लालबोझी सडक कटान भइ आवजावत अबरुद्ध हुने खतरामा रहेको छ । पहलमानपुर लालबोझी बर्खायाममा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने सो सडकको बारेमा स्थानीयले घोडाघोडी नगरपालिकामा गर्नै पर्ने प्राथमिकतामा यो सडकको स्तर उन्नति गर्नुपर्ने सर्बसाधारणहरुको माग बेवास्ता गर्ने गरेको आरोप लागेको छ ।
सो सडक खण्डमा पैदल हिडडुल गर्न र बिरामी, गर्भवतीहरुलाई समेत स्वास्थ्य संस्था सम्म पुर्याउन समस्या भएपछि स्थानियहरु मिलेर बारम्बार नगरपालिकालाई सडक मर्मत गर्न अनुरोध गर्दा बेवास्ता गरेको भन्दै गत बर्ष पुर्ब पश्चिम राजमार्ग केहि समय अबरुद्ध गरेका थिए ।
नगरपालिकाले सामान्य ग्राबिल हाल्ने बाहेक सडकको स्तरवृद्वि गर्ने तर्फ ध्यान नदिएको प्रविन कठरिया बताउंछन् । घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले सडकको अवस्था जोखिमपूर्ण भएको स्विकार्दै बर्षा सकिए लगत्तै सडक मर्मत गरिने भन्दै अहिले नदिजन्य पदार्थको उत्खनन गर्न नपाईने हुंदा समस्या भएको बताउदै खाल्डाखुल्डी भएको सडकको सामान्य मर्मतका लागि पहल गरिने बताएका छन् ।
