बझाङ, ५ भदौ । श्रावण शुक्ल एकादशीबाट सुरु भएर पूर्णिमाका दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक मेला विरिजात सुरु भएको छ । कोभिड महामारीको बेवास्ता गर्दै बझाङ र दार्चुलालगायतका जिल्लाबाट सयौंको संख्यामा आएका श्रद्धालुहरू सुर्मा सरोवरतर्फ प्रस्थान गरेका छन् ।
पाँच दिनसम्म चल्ने धार्मिक मेला विरिजातमा सहभागी हुन विभिन्न जिल्लाबाट ८ हजारको हाराहारीमा तीर्थालुहरू सुर्मा सरोवर क्षेत्रमा पुगेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
समुद्र सतहदेखि ४ हजार ? मिटरको उचाइमा रहेको सुर्मा सरोवर ताल जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो । विरिजात मेलाका बेलामा यो तालमा गएर स्नान गरेमा मनोवाञ्छित फल प्राप्त हुने र पाप नष्ट हुने जनविश्वास छ । यस क्षेत्रमा तीर्थयात्रामा जाने यात्रुले छाता ओढ्न र जुत्ता, चप्पल लगाउन नपाइने नियम छ ।
सुर्मा सरोवर यात्रामा जाने व्यक्तिहरूले १५ दिन अघिदेखि नै चोखोनितो बस्नुपर्ने, दैनिक पूजाआजा गरेर एक छाक मात्र खाना खानुपर्ने हुन्छ । सुर्मा यात्रामा जानेले १५ दिन अघिदेखि नै खाली खुट्टा हिँड्ने र यौनजन्य क्रियाकलाप पनि गर्न नपाउने नियम रहेको सुर्मा गाउँपालिकाका वीरेन्द्र बोहराले बताए ।
पहिलो पटक सुर्मा यात्रामा जानेलाई बाला वीर भनिन्छ भने पहिले गइसकेका र फेरि जान लागेकाहरूलाई बुढा वीर भन्ने गरिन्छ । खाली खुट्टा यात्रा गर्ने वीरहरूको समूह मेलामा जाने भएकाले यो मेलाको नाम नै विरिजात रहन गएको जानकारहरूको भनाइ छ । केही वर्ष अगाडिसम्म सुर्माको घोगाडा, थकुन्ना क्षेत्रमा मेला अवधिभर ९१५ दिन० दलितहरूलाई प्रवेश गर्न नदिने नियम भए पनि हाल त्यो चलन परिवर्तन भइसकेको थकुन्नाडाका मोहन बोहराले बताए ।
तीर्थालुहरू शुक्ल पक्ष एकादशीका दिन जयपृथ्वी नगरपालिकाको सेलाखेतमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्दछन् । एकादशी दिन दौलीचौरको घोगाडामा रहेको सुर्मा थलीमा रातभर विभिन्न खालका भारी खेल खेलेर जाग्राम गर्ने र भोलिपल्ट बिहानै हिँडेर साँझ सुर्मा सरोवर पुग्ने गरेको सुर्मा गाउँपालिकाका स्थानीयसमेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।
उनका अनुसार चतुर्दशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट ९जनैपूर्णिमाको दिन० त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाको थकुन्डा गाउँमा रहेको सुर्मा देवीको मुख्य मन्दिरमा पूजा गरेपछि मेला सकिने गर्दछ । पवित्र मनले सुर्मा सरोवरमा स्नान गर्नाले इच्छित वर प्राप्त हुने जनविश्वास भएका कारण आफूहरू मेला भर्न जान लागेको जयपृथ्वी नगरपालिकाका नरेन्द्रबहादुर थापाले बताए ।
सुर्मा मेलामा बझाङको बाटो भएर र दार्चुलाको मार्मा भएर आउने श्रद्धालुहरूको भेट विरुओडार नजिक भएपछि दुवैतिरका मानिसहरू मिलेर चाभाई ९सुर्मा देवीको स्तुति गान० खेल्ने गर्दछन् ।
सुर्मा सरोवर सुदूरपश्चिमको एक चर्चित पर्यटकीय गन्तव्य पनि हो । पछिल्लो समय धेरैजसो मानिस धार्मिकभन्दा पनि यहाँको भौगोलिक सुन्दरता अवलोकन गर्नका लागि अन्य समयमा पनि यस क्षेत्रको भ्रमणमा जाने गर्दछन् । तीन वर्षअघि एक जना अमेरिकी पत्रकारसहितको टोलीले सुर्मा सरोवरको पर्यटकीय सम्भाव्यताको समेत अध्ययन गरेको थियो ।
जिल्ला समन्वय समितिले यस क्षेत्रमा पर्यटकीय पदमार्गको विकास गर्नका लागि आवधिक योजना तयार गरेको थियो । यसको कार्यान्वयन हुन सकेको छैन ।सुर्मा सरोवर क्षेत्रको पर्यटकीय विकासका लागि सुर्मा गाउँपालिकाले पूर्वाधार विकास तथा प्रचार प्रसारको काम थालेको गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताए ।
यस क्षेत्रमा रहेको सुर्मा सरोवर, तातोपानीको मुहान, विरु ओडार, धानसेरी जिउलो आदि आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा छन् ।