धनगढी: वनमन्त्री प्रेमबहादुर आलेले अक्सिजन सिलिन्डर दोब्बर बढि मूल्यमा खरिद गरेको भेटिएको छ । उनले १२ हजार बजार मूल्य पर्ने अक्सिजन सिलिन्डर २३ हजार रुपैयाँमा खरिद गरेको देखिएको हो । ६० वटा सिलिन्डरको प्रति सिलिन्डर २३ हजारका दरले खरिद गर्दा भ्याट छुट्टै जोडिएको छ । भ्याटसमेत जोड्दा वनमन्त्री आलेले बजार मूल्यको दोब्बरभन्दा बढी रकम तिरेका छन् ।
नयाँ बानेश्वरस्थित विथ म्यानेजमेन्टर लिमिटेडबाट आलेले अक्सिजन सिलिन्डर खरिद गरेका हुन् । सिलिन्डर चीनबाट आयात गरिएको हो । उनले सिलिन्डर डोटी अस्पतालमा हस्तान्तरण गरेका छन् । यस्तै वनमन्त्रीका कार्यकर्ताले सामाजिक सञ्जालमा सार्वजनिक गरेको बिल र डोटी अस्पतालले अक्सिजन सिलिण्डरसहितका सामाग्री उपलब्ध गराउन भन्दै पठाएको पत्र पनि बाझिएको छ ।
डोटी अस्पतालले विथ म्यानेजमेन्टर लिमिटेड ललितपुरलाई सामाग्री उपलब्ध गराउन पत्र लेखेको छ भने विथ म्यानेजमेन्टर लिमिटेड काठमाडौँले उक्त सामान पठाएको बिल सार्वजनिक भएको छ । आलेले व्यक्तिगत रुपमा ११० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको दावी गरेपनि अहिलेसम्म ६० वटा सिलिण्डरको बिल मात्रै सार्वजनिक भएको छ ।

