काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेका कारण अहिलेको अवस्था आएको आरोप लगाएको छ।
नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस शिर्ष नेताले सरकारले महामारी नियन्त्रणमा लापरवाही गरेको आरोप लगाएका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारकै लापरबाहीका कारण मुलुकमा कोरोना महामारी थप भयावह बनेको आरोप लगाए। उनले सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसकेको र अनुशासन पालन नगरेका कारण अवस्था भयाबह भएको आरोप लगाए।
नेता पौडेलले नागरिकको असावधानीका कारण पनि महामारी फैलिएको बताउँदै सचेत रहन आग्रह गरे। उनले सरकारलाई महामारीमा ध्यान केन्द्रित गराउन दवाव दिनुपर्नेमा समेत जोड दिए। यस्तै महामन्त्री कोइरालाले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा क्वारेन्टाइनको व्यवस्था नगरेकाले सरकारप्रति आक्रोश पोखे।
यस्तै नेता गोपालमान श्रेष्ठले माहामारी नियन्त्रण गर्न छाडेर सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। कार्यक्रमा सम्बोधन गर्दै उनले अहिलेको अवस्था आउनु लाजमर्दो रहेको उल्लेख गरे। उनले नेपाली कांग्रेसले महमारी नियन्त्रणमा आफ्ना कार्यकर्ताहरूलाई परिचालन गरेर अगाडी जानुपर्ने सुझाव दिए।