टेकसिँह धामी/धनगढी: सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो।
दोस्रो लहरको फैलिदो कोरोना एवं कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ। जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिता मागेको हो।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर फिर्ता मागेको बताए। जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार गर्दा चार जिल्ला अस्पतालले दिन्छौं भनेको तर अहिले सम्म नपुगेको जानकारी दिए। फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उनले बताए।
पहाडका ६ जिल्ला अस्पताललाई १०(१० बेडको आइसियू र २–२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो। प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २–२ भेन्टिलेटर छन्। तर प्रयोगमा छैनन्। उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको जिल्ला अस्पतालले जनाएका छन्।
हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा सात, महाकाली अस्पतालमा र डडेल्धुरा अस्पतालमा ६र६ वटा भेन्टिलेटर सुचारु अवस्थामा छन्। पहाडी जिल्लाका सरोकारवालाहरुले भने भेन्टिलेटर फिर्ता माग्ने प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
सरकारले दक्ष जनशक्ति व्यवस्थापन गर्नुकोसाटो भेन्टिलेटर फिर्ता लिनु दुखद भएको उनीहरुको भनाई छ।
